सुनवलका खोला ठेक्कामा ‘चलखेल’को आशङ्का
जनप्रतिनिधिबीच नै विवाद
हरि शर्मा
परासी, १६ फागुन
नवलपरासीको सुनवल नगरपालिकाभित्र रहेका खोलाहरुको ठेक्का लगाउने काममा चलखेल सुरु भएको छ । चलखेल हुन थालेपछि जनप्रतिनिधिहरुबीच नै विवाद उत्पन्न भएको छ । नगर क्षेत्रमा रहेका खोलाहरुको ठेक्का लगाउन नगरपालिकाले आईईई गरेर प्रकृया अघि बढाएको छ । नगरमा रहेका सबै खोलाको ठेक्का लगाउन सात वटा खण्डको आईईई गरेपनि ५ वटा खण्डको मात्र ठेक्का आव्हान गरिएको छ । दुई वटा खण्डको ठेक्का आव्हान नगरेपछि हप्तादिन अघि भएको नगरसभा मै जनप्रतिनिधिहरुबीच विवाद भएको हो ।
नगर प्रमुख विमला अर्यालले तुरिया खोलामा रहेका नदीजन्य पदार्थ एक कम्पनीलाई जिम्मा दिने जनाएपछि विवाद भएको हो । सात खण्डमध्ये भूमहीखोला, तुरिया खोला तल्लो खण्ड, तिलकना खोला, पानभार खोला उपल्लो खण्ड र पानभार खोला तल्लो खण्ड गरी पाँच खण्डको ठेक्का आव्हान भएको नगरपालिकाले जनाएको छ । तुरिया खोलाको उपल्लो खण्ड र बिचासय खोलाको भने ठेक्का आव्हान भएको छैन ।
तुरिया खोलाको उपल्लो खण्ड नारायणगढ–बुटवल सडकखण्ड विस्तार गरिरहेको चिनिया कम्पनी चाईना स्टेट कन्स्ट्रक्सनलाई दिन भन्दै नगर प्रमुख अर्यालले नगरसभामा प्रस्ताव लगेपछि विवाद उत्पन्न भएको हो । चिनियाँ कम्पनीलाई नदीजन्य पदार्थ दिने प्रस्ताव आएपछि नगर उपप्रमुख सूर्य दुबे र चार जना वडा अध्यक्षसहितका जनप्रतिनिधिहरुले त्यसको बिरोध गरेका थिए । विचासय खोलाको ठेक्का भने त्यहाँको भौगोलिक अवस्था हेरेर निर्णय गरिने बताइएको छ ।
नारायणगढ–बुटवल सडक विस्तारको जिम्मा पाएको चाईना स्टेटलाई ठूलो परिमाणमा नदीजन्य पर्दाथ आवश्यक भएको र एकैपटक ठूलो रकम त्यसबाट नगरपालिकालाई आम्दानी हुने भएकाले कम्पनीलाई खोला जिम्मा दिन लागिएको नगरप्रमुख अर्यालले नगरसभामा बताउनुभएको थियो । नियम र प्रकृयाभन्दाबाहिर गएर हुने कुनै पनि काम आफूले नमान्ने उपप्रमुख दुबेले बताउनुभयो । ‘खोलाको जिम्माकुनै व्यक्ति र कम्पनीलाई दिने होइन सार्वजनिकखरिद बिक्री ऐनको परिधिमा रहेर दिने हो । कानुनभन्दाबाहिर गएर हुने कामलाई हामी बिरोध गर्छौ । ’ उपप्रमुखदुबेले भने ।
वडा नं. ११ का वडाध्यक्ष कमल चुवाईले प्रतिस्पर्धा नगराई कसैलाई जिम्मा लगाउने काम गलत भएको बताउनुभयो । ‘नगर सभामा प्रमुख जयूबाट नदीजन्य पदार्थको जिम्मा कम्पनीलाई दिने प्रस्ताव आयो । हामीले त्यसको बिरोध ग¥यौ र उपप्रमुसहित केही वडाध्यक्षले खोलाको जिम्मा कम्पनी र व्यक्तिलाई लगाउने होइन प्रकृयामा जाउँ भनेर बाहिर निस्क्यौं त्यसपछि के भयो थाहा भएन,’ वडाध्यक्ष चुवाईले भन्नुभयो । टेण्डर निकालेपछि कसैको नपरेमा विकल्प खोज्न सकिने तर विधि र प्रकृयामा नगई कसैलाई जिम्मा लगाउनु गलत नजिर बसाल्नु भएकाले त्यसको बिरोध गरेको चुवाईको भनाई छ ।
ठेक्का नलगाई सोझै कम्पनीलाई जिम्मा लगाउन खोज्नुमा आर्थिक चलखेल हुन सक्ने भन्दै केही जनप्रतिनिधिहरुले आशंका गरेका छन् । त्यस सम्बन्धमा जिज्ञासा राख्न खोज्दा नगर प्रमुख अर्यालले यो विषयमा पछि कुरा गर्ने बताउनुभयो ।
तपाईको प्रतिक्रिया