भीम अस्पताल भैरहवामा सिटी स्क्यान र ब्लड बैंक सेवा सञ्चालनमा
फाल्गुन १५, भैरहवा
भीम अस्पताल भैरहवामा आजदेखि सिटी स्क्यान र ब्लड बैंक सेवा सञ्चालनमा आएको छ । सेवाको सोमबार लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले शुभारम्भ गर्नुभयो । मन्त्री पन्थीले आमनागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन सरकार लागि परेको जनाउनुभयो ।
लुम्बिनी प्रदेशका जिल्ला अस्पतालमध्ये सिटी स्क्यान सेवा सञ्चालन गर्ने पहिलो जिल्ला अस्पताल रहेको भीम अस्पतालमा २ करोड ७४ लाख ४० हजार रुपैयाँको लागतमा सिटी स्क्यान सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । प्रदेश सरकारले सिटी स्क्यान राख्न अस्पताललाई बजेट उपलब्ध गराएको थियो ।
भीम अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालनमा आएसंगै यो सेवा लिनका लागि सर्वसाधारणलाई महँगो शुल्क तिरेर निजी अस्पताल र क्लिनिकमा जानुपर्ने बाध्यता हटेको छ । अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित र सुविधा सम्पन्न गराउने उद्देश्यहित सिटी स्क्यान र ब्लड बैंक सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । सञ्चालनमा आएको सिटी स्क्यान ३२ स्लायस क्षमताको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ताले भीम अस्पताल विस्तारै हरेक पूर्वाधारमा सम्पन्न हुन थालेको भन्दै ब्लड बैंकले रगतको अभाव अन्त्य गर्न सहयोग पुग्ने बताउनुभयो ।
तपाईको प्रतिक्रिया