रुसले युक्रेनमा आक्रमण सुरु गरेको १ वर्ष पूरा
१२ फाल्गुन २०७९
रुसले युक्रेनमा आक्रमण सुरु गरेको आज शुक्रवार एक वर्ष पूरा भएको छ । रुसले गएको फेब्रुअरी २४ तारिखमा युक्रेनमा आक्रमण थालेको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमणको एक वर्ष पुगेको अवसरमा हतियार उत्पादन बढाउने वाचा गर्नुभएको छ ।
राष्ट्रपति पुटिनले 'डिफेन्डर अफ द फादरल्यान्ड डे' का अवसरमा जारी गरिएको भिडियो सम्बोधनमा राष्ट्रिय सेनाबाटै राष्ट्रको स्थायित्व, विकास र भविष्य सुनिश्चित हुने बताउनुभयो । राष्ट्रपति पुटिनले युक्रेन आक्रमणलाई ‘विशेष सैन्य अभियान’ भन्दै आउनुभएको छ । दुई देश बीच शान्ति स्थापनाका लागि निर्णायक पहल हुन अझै सकेको छैन त्यसैले दुई देशबीच युद्ध अझै लम्बिने सङ्केत देखिएको छ ।
संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषदमा युक्रेनमा दिगो शान्तिका लागि मतदानको तयारी गरिरहेका बेला क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका सदस्य रहेको अन्तरसरकारी मञ्च 'जी सेभेन' का मन्त्रीहरू नयाँ प्रतिबन्ध लगाउने निष्कर्षमा पुगेका छन ।
भारतको बेङ्लाेरमा 'जी सेभेन' का अर्थ मन्त्रीहरूबीच पनि युक्रेनलाई थप आर्थिक सहयोग गर्ने तथा रुसमाथि अझ कठोर प्रतिबन्ध लगाउने सम्बन्धमा छलफल भएको छ भने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनीहरूले धेरै कठिन परिस्थिति झेलेका, उनीहरू विचलित नभएका तथा विजयी हुने बताउनुभएको छ ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गएको वर्ष युक्रेनमा दुई लाख सैनिक पठाएर आक्रमणको सुरुवात गर्नुभएको थियो । पश्चिमा देशहरूले युक्रेनमा सहयोग गरी यो युद्ध जित्नुपर्ने पक्षमा देखिएका छन् । युक्रेनप्रति ऐक्यबद्धता जनाउन अमेरिकासहित पश्चिमा देशहरूका उच्च अधिकारीले किभको भ्रमणसमेत गरेका छन् । रुसी आक्रमणको वर्ष दिन पुग्नै लाग्दा यसै हप्ता अमेरिकी राष्ट्रपति जो बाइडेन पनि किभ पुग्नुभएको थियो ।
तपाईको प्रतिक्रिया