हरि शर्मा, परासी
२०७९ फाल्गुन ११
नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १ को कार्यालय परिसरमा रहेका काठ अवैध रुपमा काटिएको छ । अवैध रुपमा दिउँसै काठ काटिएपनि जनप्रतिनिधिहरुले वास्ता नगरेको भन्दै स्थानीयले वडा अध्यक्षको मिलमतोमा उक्त कार्य भएको आरोप लगाएका छन् ।
वडा कार्यालय परिसरमा रहेका काठ अवैध रुपमा काटिएको स्थानीयले जानकारी गराएपछि प्रहरीले काठ बरामद गरेको छ । बरामद काठ डिभिजनल वन कार्यालय परासीमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभयो । बगैंचा क्षेत्र रहेको १४ कठ्ठा सार्वजनिक जग्गामा आधारभूत स्वास्थ्य केन्द्रसँगै वडा कार्यालयको भवन निर्माण गरिएको छ । वडा कार्यालय परिसरबाट अवैध रुपमा काटेर अन्यन्त्र लैजान लागेको अवस्थामा टेक्टरसहित १६३ क्विफिट गोलिया काठ बरामद भएको डिभिजनल वन कार्यालयका सहायक वन अधिकृत डिलाराम पौडेलले बताउनुभयो ।
काठसहित ६ जना व्यक्तिसमेत पक्राउ परेका छन् । अनुमति नलिई काठ काटिएको उनहरुले बताए । काटिएका काठमा सबैभन्दा धेरै सिमल छन् । केही जामुन र आँप रहेका छन् । वडाअध्यक्ष रुद्र प्रकाश उपाध्यायले केही महिना अघि उक्त क्षेत्रको काठ काट्नका लागि नगरपालिकामार्फत वन कार्यालयसँग अनुमति माग्ने निर्णय भएको भन्नुभयो ।
अनुमति नपाउँदै काठ काटेको बारे आफू अनिवज्ञ रहेको उपाध्यायको भनाई छ ।स्थानीय स–मिल (काठ मिल) मा बिक्रीका लागि पठाउने उद्देश्यले काठ काटिएको स्थानीयको आरोप छ । यसअघि पनि त्यसरी काटिएका केही काठ स–मिलमा पठाइएको स्थानीयको भनाई छ । तर वडाअध्यक्ष उपाध्यायले भने काठ काटेको बारे आफू अनविज्ञ रहेकाले आफूमाथि लगाइएको आरोप निराधार रहेको दाबी गरे ।
बरामद काठ, टेक्टर र व्यक्ति उपर जिल्ला अदालतबाट म्याद थप गरी कारबाही प्रकृया अघि बढाइएको वन कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया