फागुन ८, काठमाडौं
कोरोना भाइरस सङ्क्रमणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप खोप आज सोमवार नेपाल आइपुगेको छ । भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स (गाभी) ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप कतार एअरवेजबाट सोमबार बिहान तीन लाख ४५ हजार छ सय मात्रा खोप आएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो ।
यसअघि यही फागुन १ र फागुन ४ गते तीन लाख ४५ हजार छ सय मात्राका दरले नै खोप आएको थियो । गाभीले कोभ्याक्स सुविधामार्फत जर्मन सरकारले उपलब्ध गराएको फाइजरको ’बाइभ्यालेन्ट’ खोप बुस्टर डोजका लागि मात्र प्रयोग गरिनेछ ।
नेपाललाई जर्मन सरकारले १५ लाख मात्रा खोप उपलब्ध गराउनेछ । आज खोप आएसँगै बुस्टर डोजका लागि १० लाख ३६ हजार आठ सय मात्रा खोप नेपाल आइसकेको छ । अब चार लाख ६३ हजार दुई मात्रा खोप आउन बाँकी रहेको र त्यो खोप फागुन ११ र १५ गतेमा पनि ल्याइने डा. चौरसियालले बताउनुभयो ।
छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि सरकारले खोप माग गरेको थियो ।
तपाईको प्रतिक्रिया