00:00:00
स्थानिय

टाइम कार्ड प्रणालीले जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह सरल

प्रशासनिक कागजपत्र लिने प्रक्रिया भने झण्झटिलो
बिहीबार फाल्गुण ४, २०७९/ Thursday 02-16-23

फागुन ४, रुपन्देही
पवित्रा चौधरी
  सेवाग्राहीलाई दिइने सेवा प्रवाहलाई सहज, सरल, छिटोछरितो र झन्झटिलोरहित बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले गत माघ ५ गतेदेखि लागू गरेको टाइमकार्ड प्रणालीले सेवा प्रवाहमा सजिलो भएको बताईएको छ । टाइमकार्ड लागू भएसंगै सेवाग्राहीले रीतपूर्वक आफ्नो प्रमाणको कागजातसहित निवेदन पेस गरेपछि नागरिकता, राष्ट्रिय परिचयपत्र, ई–पासपोर्ट लिन प्रशासनमै कुरेर बस्नु नपर्ने भएको छ । यो नियम लागू भएपछि सहजै सेवा पाएको रुपन्देहीको मायादेवी गाँउपालिका ८ बसडिलवाका लालमन केवटले बताउनुभयो । 

प्रशासनले बिहानी समयमा सेवा लिन आउने सेवाग्राहीलाई रातो र दिउँसोको समयमा आउनेलाई पहेँलो टाइमकार्ड उपलब्ध गराएर सेवा दिने गरी व्यवस्था मिलाएको छ । तर, डिजिटल प्रविधिको प्रयोगमा कमी, अपर्याप्त कर्मचारी संख्या, कार्यालयमा हुने भिडभाडजस्ता समस्याको समाधान गर्न सके सेवा चुस्त हुने सेवाग्राहीको धारणा छ । टाइमकार्डले नागरिकता, राष्ट्रिय परिचयपत्र, ई–पासपोर्टजस्ता सेवा प्रवाहमा सहज बनाए पनि अन्य प्रशासनिक कागजपत्र लिने प्रक्रिया भने त्यति प्रभावकारी नभएको बुटवलका डिलबहादुर शेरचनको गुनासो छ । 

जिल्ला प्रशासन कार्यालयबाट हुने सबै किसिमका सेवा प्रवाहमा गर्भवती, अशक्त, ज्येष्ठ नागरिकलाई भने टाइमकार्ड लागू नहुने र तोकिएको कर्मचारीबाट तत्कालै सेवा पाउने व्यवस्था छ । तथ्यांकअनुसार प्रशासन कार्यालय रुपन्देहीबाट दैनिक एक सय नयाँ नागरिकता, ८० वटा नागरिकताको प्रतिलिपी, राष्ट्रिय परिचयपत्र २ सय र ई–पासपोर्ट २ सयको हाराहारीमा वितरण हुँदै आएको छ । 

टाइम कार्डको नियमले आम सेवाग्राहिहरूलाई सहज सेवा प्राप्तिको सुनिश्चितता बनाएकोसहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको भनाइ रहेको छ । टाइमकार्डमा कुन कागजात बनाउन कति समय लाग्छ र कति समयपछि आउने भन्ने तोकिएको हुन्छ ।

यसले तोकिएको सेवा प्रवाहलाई सहज बनाएजस्तै कार्यालयबाट दिइने अन्य सेवालाई पनि चुस्त दुरुस्त बनाउनुपर्नेमा प्रशासन कार्यालयले ध्यान दिनुपर्ने सेवाग्राहिहरूको सुझाव छ ।

तपाईको प्रतिक्रिया