सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै
माघ २६
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । यसअघि हिजै विश्वासको मत लिने भनिएपनि विश्वासको मत नपाउने स्थिती देखिएपछि प्रदेशसभा बैठक आजदिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री रावलले आज विश्वासको मत नलिए उहाँको पद स्वत: खारेज हुनेछ । उहाँ गत पुस २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । सरकार गठनको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार रावलसँग आज प्रदेश सभामा विश्वासको मत परीक्षण गर्ने वा राजीनामा दिने दुई विकल्प मात्रै बाँकी छन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा ३ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । यस अवधिमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । यस्तो मुख्यमन्त्रीले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
मुख्यमन्त्रीले विश्वासको मत नपाए ठूलो दलको हैसियतले काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुनुहुनेछ । आफ्नो पार्टीका नेता रेशम चौधरीको रिहाइ सुनिश्चित नभएको भन्दै नागरिक उन्मुक्ति पार्टीले यथास्थितिमै विश्वासको मत दिन नसकिने बताएपछि रावल नेतृत्वको गठबन्धन सरकार धरापमा परेको हो ।
तपाईको प्रतिक्रिया