कुष्ठरोग विरुद्धको दिवस आज : १६ जिल्ला अझै कुष्ठरोग मुक्त हुन बाँकी
काठमाण्डाै २०७९ माघ १५
आज ७०औँ विश्व कुष्ठरोग विरुद्धको दिवस । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ।
नेपालमा २०६६ सालमा राष्ट्रिय स्तरमा कुष्ठरोग जनस्वास्थ्य समस्याको रुपमा निवारण भएको घोषणा गरिए पनि अहिले बर्सेनि २ हजार ५ सयको सङ्ख्यामा नयाँ बिरामीहरु थपिने गरेको तथ्याङ्क छ। अहिले नेपालका रुपन्देही लगायत १६ वटा जिल्ला कुष्ठरोग मुक्त हुन नै बाँकी रहेको छ।
कुष्ठरोग सरुवा रोग हो । डाक्टरका अनुसार समयमै उपचार गरे पूर्ण रुपमा निको हुने र उपचार गरेका बिरामीबाट यो रोग अर्कोमा सर्दैन ।समुदायमा रोगको सङ्क्रमण हुन नदिन रोगका लक्षण र चिह्न देखिनासाथ नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयको आग्रह छ ।
विगतमा ११ जिल्लामा कुष्ठरोगका बिरामी रहेकोमा चालु आर्थिक वर्षमा १६ जिल्लामा बिरामी भेटिएका छन्। विशेषगरी तराईका जिल्लामा कुष्ठरोगका बिरामी धेरै देखिएको स्वास्थ्य सेवा विभागका कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख विशेषज्ञ डा. प्रशन्न नापितले बताउनुभयो ।
सामान्यतया शरीरमा नचिलाउने खालको सेतो फुस्रो दाग देखा पर्ने, हात खुट्टामा छुँदा या चिमट्दा थाहा नहुने तथा शरीरमा कमजोरी महसुस हुँदै जानु कुष्ठरोगको लक्षण हुन् । सरकारले कुष्ठरोग निवारणका लागि ‘शून्य कुष्ठरोग’ नीतिसहित ५ वर्षे कार्ययोजना बनाएर काम गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया