00:00:00
स्थानिय

सुस्ता बचाउ अभियन्ता गुरुङको निधन

बुधबार माघ ११, २०७९/ Wednesday 01-25-23

परासी, ११ माघ 
   सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको निधन भएको छ । मष्तिष्क घात भई गत पुस ८ गतेदेखि भैरहवा मेडिकल कलेजमा उपचारार्थ ६२ वर्षिय गुरुङको मंगलबार साँझ निधन भएको हो ।

आर्थिक अवस्था कमजोर रहेका उहाँको उपचारका लागि बुटवल र नवलपरासीमा अभियान सञ्चालन गरिएको थियो । उपचारमा हालसम्म करिब ७ लाख बढी खर्च भएको परिवारजनले जनाएको छ । सरसपाटबाट लिइएको रकम अस्पताललाई तिरेर शव घर ल्याइएको परिवारजनले जनाएको छ । गुरुङका श्रीमती, २ छोरी र १ छोरा छन् ।

भारतद्धारा पटक पटक अतिक्रमणको चपेटामा पर्दै आएको नवलपरासीको सुस्ता भूमिलाई जोगाउन गुरुङको अगुवाईमा अभियान समिति गठन गरेर आन्दोलन हुँदै आएको थियो । 
 नेपाल प्रहरीको हवल्दार सेवाबाट अवकाश प्राप्त गुरुङ २०५५ सालदेखि भारतद्धारा हुँदै आएको पटक पटकको अतिक्रमण कार्य रोकिनु पर्ने, अतिक्रमति भूमि फिर्ता हुनुपर्ने र स्थायी सीमा स्तम्भ स्थापनाको माग राख्दै सरकारलाई दबाब दिदैं आउनुभएको थियो ।  

सुस्ताको कुल ४० हजार ९८० हेक्टर जमिन हो । १४ हजार ५ सय हेक्टर भारतले अतिक्रमण गरेको छ । अहिले सुस्तावासीले ७ हजार हेक्टर मात्र भोगचलन गर्दै आएको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताउनुभयो । १९ हजार ४८० हेक्टरलाई भारतले विवादित भनेर दाबी गरेपछि अहिले सो क्षेत्र कसैले पनि भोगचलन नगरेको जयसवालले बताए । 
 सुस्ता गाउँपालिका– ५ मा पर्ने नारायणी नदी पारिको सुस्ता गाउँमा हाल ३२५ घरधुरीमा ३२ सय जनसंख्याको बसोबास छ । नारायणी नदीबाट डुंगा चढेर जानुपर्ने सुस्तालाई तीन तिरबाट भारतीय भूमिले घेरेको छ । 

तपाईको प्रतिक्रिया