सप्ताहब्यापी कार्यक्रम गरी २८५९ औ सोनाम ल्होछार मनाउने तयारी
माघ २, रुपन्देही
कोभिड संक्रमणको कारण दुई वर्ष नया वर्ष मनाउन नसकेका रुपन्देहीका तामाङहरुले यो वर्ष २८५९ औ सोनाम ल्होछार भब्य रुपमा मनाउने भएका छन । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, रुपन्देहीले सप्ताहब्यापी कार्यक्रम गरि मनाउने भएको हो ।
सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि कार्यक्रम अन्तरगत माघ ४ गते रक्तदान, माघ ६ पुष्पलाल पार्कमा दिप प्रज्वलन, ८ गते पुष्पलाल पार्कदेखि शान्तिपद यात्रा, तामाङ पुजासंगै शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाउने जिल्ला अध्यक्ष राजेश घिसिङले बताउनुभयो ।
कार्यक्रममा घेदुङका केन्द्रीय सदस्य विरबहादुर लामाले सबै जातिको आआफनै ईतिहास भएको भन्दै त्यसमा पनि तामाङहरु उत्कृष्ट र वैज्ञानिक संस्कृति, रितिरिवाज अप्नाउने जातिमा पर्ने दाबी गर्नुभयो ।
नेपाल तामाङ घेदुङका प्रदेश अध्यक्ष विरमान लामाले तामाङहरुको घरमा झण्डा राखेर पहिचान दिने, भाषा, संस्कृति संरक्षण गर्ने जस्ता कामहरु हुँदै आएको बताउनुभयो । लामोसमयको अन्तरालमा तामाङ जातिहरु आफनो मुल धर्म बुद्ध धर्म छोडेर बोन धर्मतर्फ आकर्षित हुँदा केही समस्या उत्पन्न भएको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा पुर्वअध्यक्ष कृष्ण बहादुर मोक्तानले दुई वर्ष कोभिड १९ संक्रमणकै कारण रोकिएको बताउनुभयो । नेपालमा आफनै संस्कार, संस्कृति र पहिचान भएको तामाङहरु जातिगत एकता नभई संस्कार संस्कृति अप्नाउन कठिन भएको बेला स्थापना भएको उहाँले बताउनुभयो । कार्यक्रममा प्रदेश सचिव सम्भु मोक्तान, युवा अध्यक्ष हसन्त लामा, संयोजक दिल बहादुर घिसिङलगायतले नया पुस्तामा तामाङ जातिको पहिचान र संस्कृति चिनाउन जरुरी रहेको बताएका थिए ।
देशभर र लुम्बिनी प्रदेशमा समेत तामाङहरु छरिएर रहेका छन । रुपन्देहीमा २ हजार ३ सय जनसंख्या रहेको अनुमान गरिन्छ ।
तपाईको प्रतिक्रिया