00:00:00
खेलकुद

नेपाल टी २० लिगको उपाधि लुम्बिनी अल स्टार्सलाई

बुधबार पौष २७, २०७९/ Wednesday 01-11-23

पुष २७, काठमाडौं 
विराटनगर सुपर किङ्सलाई २४ रनले पराजित गर्दै लुम्बिनी अल स्टार्स नेपाल टी-२० लिग पहिलो संस्करणको च्याम्पियन बनेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको एक सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय नौ रनमात्रै बनाउन सक्यो । विराटनगरका अर्जुन साउदले ३४ र पृथु बाँस्कोटाले ३१ रन बनाए । लुम्बिनीका हरमीत सिंह र सागर ढकालले दुईरदुई विकेट लिए

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर २ बलमा एक सय ३३ रन बनाउँदा अलआउट भयो । लुम्बिनीका लागि लाहिरु मिलन्थाले ४१ र हरमीत सिंहले ३० रन बनाएका हुन् । विराटनगरका नन्दन यादव र राज नन्नानले दुईरदुई विकेट लिए ।

पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिगमा लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्ग्स, जनकपुर रोयल्स, काठमाण्डौ नाइट्स, पोखरा एभेन्जर्स र फार वेस्ट युनाइटेड गरी छ टोलीको सहभागिता थियो । 

नेपाल क्रिकेट संघ (क्यान) र सेभेन थ्री स्पोर्टसको आयोजनामा जारी प्रथियोगिताको विजेता बनेको लुम्बिनीले ५५ लाख प्राप्त गर्नेछ । उपविजेता विराटनगरले ३० लाख, तेस्रो स्थानको जनकपुरले १० लाख र चौथो भएको काठमाडौंले ५ लाख प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ लाख, उत्कृष्ट ब्याटर र बलरले समान २ लाख ५० हजार र उदयीमान खेलाडीले १ लाख ८० हजार पाउनेछन् ।

तपाईको प्रतिक्रिया