अरनिको अन्तर्राष्ट्रिय पुरस्कार – २०७८, चेतनाथ आचार्यको ‘रुइबा’ उपन्यासलाई
काठमाण्डौ २०७९ मंसिर २३
गैरआवासीय नेपाली संघको भाषा तथा साहित्य समितिले २०७७ सालमा स्थापना गरिएको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार २०७८’ साहित्यकार चेतनाथ आचार्यको ‘रुइबा’ उपन्यासलाई प्रदान गर्ने निर्णय गरेको छ । पहिलो पटक भने यो पुरस्कार हरि अधिकारीको ‘संकलित गद्य रचना’लाई प्रदान गरिएको थियो ।
लेखक आचार्यले तामाङ परिवेशमा आधारित यस कृतिमा तामाङ पात्र र परिवेशमार्फत गहन विषयलाई पाठकमाझ प्रस्तुत गर्नु भएको छ । उपन्यासमा ‘न्याउली’ नामक महिला पात्रको जीवनपर्यन्तको सङ्घर्षलाई बडो मिहिन किसिमले प्रस्तुत गरिएको छ ।
वैदेशिक रोजगारीका नाममा कसरी निमुखा व्यक्तिलाई कहाली लाग्दो कुचक्रमा पारिन्छ भन्ने कुरा निकै प्रखर रूपमा यस कृतिमा उल्लेख गरिएको छ ।
लेखक चेतनाथ अधिकारीलाई गैरआवासीय नेपाली सङ्घले एक विशेष समारोहबीच यो पुरस्कार प्रदान गर्नेछ ।
यसअघि समितिले पुरस्कारका लागि प्राप्त र सिफारिस गरिएका पुस्तकमध्ये उत्कृष्ट पाँच कृति घोषणा गरेको थियो जसमा चेतनाथ आचार्यको ‘रूइबा’, नगेन्द्र न्यौपानेको ‘बर्मा र थाइल्यान्डभित्र नेपाल’ (नियात्रा सङ्ग्रह), अजित उत्सवको ‘आकाश गंगाको किनार’ (कविता सङ्ग्रह), दीपा मेवाहाङ्ग राईको ‘यादको सन्दुक ’ (कविता सङ्ग्रह) र नरेश राईको ‘तेप्लायु’ (कविता सङ्ग्रह) रहेको थियो ।
तपाईको प्रतिक्रिया