जिल्लाका तिनै क्षेत्रमा आफूहरुले विजयी हासिल गर्ने नेता रायमाझीको दाबी
अर्घाखाँची २०७९ कार्तिक २७
नेकपा एमालेका केन्द्रीय सचिव तथा अर्घाखाँचीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार टोपबहादुर रायमाझीले आसन्न निर्वाचनमा एमालले अर्घाखाँचीसहित देशभरका धेरै ठाउँमा जित्ने बताउनुभएको छ ।
रायमाझीले एमालेसँग देश विकासका ठोस एजेण्डा र कार्ययोजना भएको बताउँदै पाँच दलिय गठबन्धनलाई एमालेले सजिलै पराजित गर्ने दावी गर्नुभयो । सत्ता र स्वार्थकोको निम्ति बनेको गठबन्धनले देशलाई निकास दिन सक्ने कुनै आधार नभएको रायमाझीले बताउनुभयो । भुमिकास्थान १० धनचौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रायमाझीले सो कुरा बताउनुभएको हो ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका रायमाझीले एमालेसँग एक्लै भिड्ने तागत नभएर पाँच दल एकै ठाउँमा उभिएपनि गठबन्धन दलसँग चुनावी एजेण्डा र भावी कार्ययोजना नभएको बताउनुभयो । रायमाझीले जिल्लाका तिनै क्षेत्रमा आफूहरुले विजयी हासिल गर्ने दावी गर्दै एमालेको जितलाई कसैले रोक्न नसक्ने बताउनुभयो । रायमाझीले विगतमा जिल्लाको विकासका लागि कुनै कसर बाँकी नराखेको भन्दै आगामी दिनमा पनि थुप्रै काम गरेर जनताको मन जित्ने बताउनुभयो ।
रायमाझीले एमालेलाई कमजोर बनाउन देशी,विदशी शक्तिले षडयन्त्र गरिरहेको भन्दै नेपाली जनताको साथले एमाले मुलुकको पहिलो पार्टी बन्ने ठोकुवा गर्नुभयो । रायमाझीले एमालेले हरेक वर्गका व्यक्ति तथा समुदायको हितका लागि काम गर्ने बताउदै मुलुकको विकास र समुन्नतीका लागि एमालेको सरकार अपरिहार्य रहेको भन्दै मंसिर ४ पछि एमाले नेतृत्वको सरकार बन्ने दावी गर्नुभयो ।
अदालतको परमादेशबाट बनेको वर्तमान गठबन्धन सरकारले दुई वटा बजेट ल्याएपनि देश र जनताको पक्षमा कुनै उल्लेख्य काम गर्न नसकेको भन्दै सरकारमा रहेको बेला विकास, समृद्धि, समाजिक न्याय र सुशासनको पक्षमा गरेका कामले एमालेको लोकप्रियता बढेको जिकिर गर्नुभयो ।
तपाईको प्रतिक्रिया