रुपन्देहीका स्रष्टा माझ घनश्यामले भने, 'अब मेरो परिक्षा सुरु भयो'
देवदह २०७९ कार्तिक १९
सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले आफ्नो वास्तविक परिक्षा सुरु भएको बताउनुभएको छ । शनिबार देवदहमा आयोजित 'स्रष्टासंग घनश्याम भुसाल' कार्यक्रममा बोल्दै भुसालले प्रतिबद्धता पूरा नगरे जनताको कठघरामा उभिन तयार रहेको बताउनुभयो ।
स्रष्टाहरूले राखेका जिज्ञासाहरूको जवाफ दिँदै भुसालले निकै लामो संघर्ष गरेर नेकपा एमाले पार्टीलाई जनताको प्यारो पार्टी बनाएको तर संसद र सरकारमा जनताको मुद्दा उठाउँन एमाले नेतृत्वले बाधा पुर्याएको बताउनुभयो । "हिजो पार्टीगत रूपमा केही अफ्ट्याराहरू थिए तर अब म स्वतन्त्र छु र मेरो वास्तविक परिक्षा अब सुरु भएको छ ।" भुसालले बोलेको कुरा पूरा गर्छु, कठघरामा उभिन म तयार छु।"
नेपाली कला, साहित्य र लेखनको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै भुसालले नेताहरूमा सहि सांस्कृतिक चिन्तन आवश्यक रहेको तर्क गर्नुभयो । पछिल्लो समय नेपाली राजनीति खराब लयमा गुज्रिरहनुमा समेत नेताहरूको समाज र संस्कृतिलाई बुझ्ने सवालमा रहेका समस्या कारक रहेको बताउँदै भुसालले "अहिले जनताको राजनीतिलाई हेर्ने दृष्टिकोण पनि नकारात्मक रहेको छ । बिग्रेको राजनीतिलाई लेखन, साहित्य तथा विचारको माध्यमबाटै सुधारेर राजनीतिक नेतृत्व र समाजलाई सहि दिशामा हिडाउँन स्रष्टाहरूले भुमिका खेल्नुपर्नेछ ।"
हिजो तपाइले संसदमा रहेर के गर्नुभयो र अब तपाइलाई फेरि किन संसदमा पठाउने भन्ने स्रष्टाको जिज्ञासामा भुसालले बिगतमा आफू संसदमा रहदा लोकतन्त्र र संविधानको रक्षा तथा पार्टी भित्रको गलत प्रवृत्ति विरुद्ध निर्धक्कका साथ आवाज उठाएको बताए। जनताको साथ, माया र उत्साह देख्दा निर्वाचन जित्छु जस्तो लागेको बताउँदै भुसालले अब संसदमा गएर बाँकी रहेका विकास निर्माणका अधुरा कार्य पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा समालोचक तथा लेखक रामचन्द्र श्रेष्ठले अहिलेको चुनावमा एकातिर कमल थापा र दिपक बोहराहरू रहेको र अर्कोतिर घनश्याम भुसालहरू रहेकोले जनताले कसलाई संसदमा पठाउँने भन्ने फैसला सोही अनुसार गर्नुपर्ने बताउनुभयो । देशको राजनीति दलाल उत्पादन गर्ने दिशातर्फ अगाडि बढिरहेको बताउँदै बिग्रीएको राजनीतिलाई सहि दिशामा लैजान सांसदहरूको भुमिका हुने र त्यो भुमिका घनश्याम भुसालहरूले खेल्न सक्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा युगीन साहित्य समाजका विष्णु विवस पोखरेल, फोनिज रुपन्देहीका उपाध्यक्ष प्रेम थापा, कलाकार तेजु अर्याल लगायतले समसामयिक विषयमा भुसालसंग जिज्ञासा राखेका थिए । नेपाली लेखक संघ र अखिल नेपाल लेखक संघ रुपन्देहीले आयोजना गरेको कार्यक्रमको मिडिया सहकार्य प्रेस सेन्टर नेपालले गरेको थियो ।
तपाईको प्रतिक्रिया