२०७९ असोज ३०
रुपन्देही- तिलोत्तमा
आज मलाई पनि आफ्नो मनमा गडेर बसेका तिता मिठा शब्द बाहिर निकाली केहि लेख्न मन लाग्यो मेरो गाँउको बारेमा ।
आहा ! निस्ती र बडिगाड खोलाको बिचमा रहेको मेरो गाँउ, कति प्यारो, रमणिय र सुन्दर छ जहाँ मैले बालापन बिताए । जताततै हरियाली देखिन्थ्यो दुई खोलाको बिचमा रहेको मेरो गाउं, त्यही गाउमा थिए निर्दोष र सुन्दर मन भएका मानिसहरुको घना बस्ती ।
आज पनि झट्ट हेर्दा स्वर्ग भन्दा कम छैन मेरो गाँउ । त्यति मात्र कहाँ हो र बाग्लुङ्ग र गुल्मीलाई जोड्ने नेपालको सबैभन्दा अग्लो दोस्रो पुल पनि मेरै गाँउमा रहेको छ । माथि कोटको मन्दिर कोट मुनि गुल्मीको पौँदि बजार, बजार भन्दा थोरै तल छ मेरो अरेवा गाँउ, त्यही गाउमा रहेको छ मेरो सानो घर । हिलो,धुलोमा खेल्दै रमाउदै त्यहीको जमिनले ठुलो बनायो म लगायत सबैलाई । रमाइलो नै थियो सबै खुशी नै थिए तर पनि भन्छन् नि मानिसलाई जति भएपनि पुग्दैन । विस्तारै गाँउका मानिसहरु कसरी सुख प्राप्त हुन्छ भन्ने तर्फ सोच्ने मात्र हैन गाउँ नै छाडेर शहर तिर लाग्न थाले कोही कोही त बिदेशिए पनि हुन त बाध्यता पनि हो गाँउ रितिदै गैरहेको छ ।
समयसँगै विभिन्न प्रविधिको विकासले पनि मानिसको चालचलन, रितिरिवाज, लवाईखवाईमा पहिलेको भन्दा अहिले धेरै परिवर्तन भएको देख्न सकिन्छ । त्यसैले त गाँउमै आफ्नो परिवारसँगै जे जस्तो छ त्यसैमा रमाएर आफ्नो माटोमा पसिना बगाउन भन्दा विदेशमा गएर पसिना बगाएका छन् । बसाईसराई र विदेश पलायन हुने क्रम पनि त्यती नै बढ्दो छ । गाँउका हरियाली वन पाखा उजाडिदै गएका छन् । खोला नाला एक्लै छङछङ गरि बसाईसराई र विदेशीएका दाजुभाई दिदिबहिनीलाई बोलाइरहेको छ । खेतबारी बाँझिदै गएका छन् ।
समय सधैँ एकैनास कहाँ हुन्छ र कोभिड १९ को समयमा सबै विदेशिएका, बसाईसराई गरेका मानिसहरु आफ्नो गाँउघर सम्झि आएका थिए । बाझिएका खेतबारी फेरी हरियाली भयो । उजाडिएका घर फेरी श्रृङ्गारिए, गाँउमा फेरी चहलपहल बढ्यो । मेरो गाँउले फेरी नयाँ मुहार फेर्याे । धेरै मानिसको मुखबाट मैले सुनेको थिए “गाँउमा बस्नुको मज्जा नै बेग्लै छ । चिसो हावा सँगै सबैको निस्वार्थ माया अनि साथ, कसैले अब यहि केहि गर्ने सोचमा छु भन्दा म निकै खुसी थिए । मलाई लाग्यो मेरो गाँउले दिएको माया अनि आफ्नोपन सम्झने कोहि त रहेछ । दुख पर्दा काम लाग्ने मेरो गाँउ सुखमा काम लाग्न सकेन । कोभिड १९ पनि रोकथाम हुदैँ गयो मानिसहरु पनि गाँउ छोड्न लागे ।
मैले मनमनै भने “मेरो गाँउका मानिसहरु कति निष्ठुरी आफ्नो ज्यान जोगाउन सबै फर्कि आए तर गाँउको मुहार फेर्न कोहि आएनन् । थाहा छैन कसरी गाँउघरका ति मानिसले आफ्नो पुर्खाले जोगाइ राख्दिएको सम्पत्ती र आफूले बिताएको बालापन चट्टक्कै र्बिसिन सक्छ । अध्ययनको क्रममा गाउ भन्दा पर छु कहिलेकाही धेरै सम्झना आउछ मेरो गाउं अनी मेरो घर त्यो डाडा अनी त्यो पाखाको ।
लेखक, निरुता गिरी
हाल, तिलोत्तमा - शंकरनगर
तपाईको प्रतिक्रिया