00:00:00
राष्ट्रिय

आज चट्याङसहित वर्षाको सम्भावना

बाढीको उच्च जोखिम भएका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
शुक्रबार असोज २१, २०७९/ Friday 10-07-22

आश्विन २१, काठमाडौँ 
केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण बाढी पहिरोको जोखिम हुने क्षेत्रमा मानिसलाई सुरक्षित र सतर्क रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी सूचना केन्द्रले वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरो गइरहेको भन्दै सबैलाई सुरक्षित र सतर्क हुन आग्रह गरेको हो ।

शुक्रबार बिहान ४ बजे पाल्पा, स्याङ्जा, नवलपरासी, कपिलवस्तु, दाङ, प्यूठान, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर, गोरखा, धादिङ, लमजुङ, तनहुँ र आसपास केही स्थानमा भारी वर्षा भएको र थप हुने भन्दै केन्द्रले उक्त जिल्लाका साना खोलामा आकस्मिक बाढी आउनुका साथै पहिरो जान सक्ने भएकाले दिउँसोसम्म सतर्क रहन आग्रह गरेको छ ।

त्यस्तै बिहान साढे ४ बजे भेरी जलाधारका विभिन्न स्थानमा भारी वर्षा भई जलसतह सतर्कतारखतरा तह आसपास पुगेको केन्द्रले जनाएको छ । भेरी जलाधार पर्ने क्षेत्रमा थप वर्षा हुने देखिएकाले भेरी नदीको रिम्नादेखि कर्णाली दोभानसम्म अर्को ६ घण्टासम्म उच्च सतर्कता अपनाउन केन्द्रले अनुरोध गरेको छ ।

यसैगरी बिहान ५ बजे पछिल्लो ३ घण्टा कञ्चनपुर, कैलालीको धेरै स्थानमा भारी वर्षा भएको र थप हुने, खुटीया, कान्द्रा, मोहना, सुहेली, चौधरलगायत क्षेत्रका साना खोलाहरूमा एक्कासी बाढी आउन सक्ने भएकाले होचा डुबान हुने स्थानमा दिउँसो १२ बजेसम्म सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।

देशका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसारलुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा शुक्रबार मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
 

तपाईको प्रतिक्रिया