00:00:00
राष्ट्रिय

आज हरितालिका तीज ः देशभरका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भिड

मंगलबार भदौ १४, २०७९/ Tuesday 08-30-22

भदौ १४, काठमाण्डौ 
आज हरितालिका तीज पर्व मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ ।

हिजो दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीया तिथीका दिन हरितालिका तीजको व्रत, चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

आज देशभरका शिवमन्दिरमा भक्तजनको घुइँचो लागेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण विगत दुई वर्षमा सामूहिक भेला र पशुपतिलगायतका मन्दिरहरु बन्द गरिएको थियो ।

दुई वर्षपछि जमघट भएको र मठ मन्दिर पनि खुलेकाले यसपालि चाडपर्वको रौनक छ । दुई वर्षपछि पशुपतिलगायतका शिवालयहरु खुला गरिएपछि बिहानैदेखि दर्शनार्थीहरुको भिड लागेको छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको धार्मिक विश्वास छ ।

आज धेरैले निराहार व्रत बस्ने  गरेका छन् । तर, डाक्टरले आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्रै व्रत बस्न सुझाव दिएका छन् । डाक्टरकाअनुसार शरीरले थेग्ने भएमात्रै निराहार व्रत बस्नुपर्छ, नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र फलफूलका जुस खान सकिन्छ । निराहार व्रत बस्दा शरीरमा पानीको कमी भइ बेहोस समेत हुन सक्ने भएकाले आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ । सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत गर्न सकिन्छ ।

 तीजका अवसरमा आज महिलालाई सरकारले  सार्वजनिक बिदा दिएको छ । यसैबीच, तीजका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतले शुभकामना दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले तीजले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नु भएको छ । साथै उहाँले तीजले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउने र यसले महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न अवसर दिने उल्लेख गर्नुभएको छ ।

यस्तै, प्रधानमन्त्री देउवाले स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायु तथा प्रगतिको कामना व्यक्त गर्नु भएको छ ।  

तपाईको प्रतिक्रिया