देशभर गर्मी बढ्यो
भैरहवाको अधिकतम तापक्रम ३७ दशमलव ८ डिग्री सेल्सियस पुग्यो
असार ३२, काठमाडौं ।
केही दिनदेखि देशभर गर्मी बढेको छ । देशका सबैजसो ठाउँमा अधिकतम तापक्रम बढेको छ भने तातो र सुख्खा हावा चल्न थालेको छ ।
पहाडी क्षेत्रमा फाट्टफुट्ट पानी परेर बिहान बेलुका केही शीतलजस्तो महसुस भए पनि तराईका जिल्लामा केही दिन यता पानी नपर्दा गर्मी बढेर जनजीवन प्रभावित बनेको छ । पहाडी क्षेत्रमा पनि दिउँसोको समयमा टण्टलापुर घाम चर्किँदा जनजीवन प्रभावित भएको छ ।
केहि दिनको लागि मनसुन रोकिएर न्यूनचापीय रेखा नेपालबाट टाढा भएकाले धेरै गर्मी महसुस भएको मौसमविद्ले जानकारी दिनुभयो । मौसमविद्का अनुसार न्यूनचापीय रेखाको प्रभाव पर्न थालेपछि फेरि केही शीतल महसुस हुन थाल्छ । अहिले झरी पर्नु पर्ने समय भए पनि फाट्टफुट्ट र क्षणिक बाहेक पानी परेको छैन । अझै केही दिन मौसम बद्ली भएर लगातार पानी पर्ने सम्भावना नभएको उहाँको भनाई छ ।
तराईका कतिपय ठाउँमा अधिकतम तापक्रम ३५ देखि ४० डिग्री सेल्सियससम्म पुगेको छ । आज भैरहवाको अधिकतम तापक्रम ३७ दशमलव ८ डिग्री सेल्सियससम्म पुगेको छ । यस्तै नेपालगञ्जको ३७, धनगढीको ३७ दशमलव २, काठमाण्डौको ३०, जनकपुरको ३५ र विराटनगरको ३४ दशमलव ८ डिग्री सेल्सियस छ ।
तपाईको प्रतिक्रिया