00:00:00
राष्ट्रिय

आज गुरु पूर्णिमा, गुरुलाई सम्मान गरी मनाइँदै

बुधबार असार २९, २०७९/ Wednesday 07-13-22

असार २९, काठमाडौं 
आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।

वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ । गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने प्रचलन छ ।


अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई शास्त्रले गुरु मानेको छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ, माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ अर्थात गुरू देवता समान हुन् भन्ने मान्यता शास्त्रले बोकेको छ ।

गुरु पूर्णिमाका अवसरमा आज विद्यालय एवम् विभिन्न सङ्घ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्छन्  । आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ ।
 

तपाईको प्रतिक्रिया