पालिका चुनावका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै, उल्लङ्घन गरे उम्मेदवारी नै रद्द हुने
बैशाख २७
स्थानीय तह चुनावका लागि आज राति १२ बजेदेखि मौन अवधि लागू हुँदैछ । आउँदो शुक्रवार हुने मतदानका लागि निर्वाचन आयोगले आज मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्म मौन अवधि लागू गरेको हो । आयोगका अनुसार मौन अवधिमा आचारसंहिता विपरीतका गतिविधि गर्न पाइदैन ।
चुनावलाई निष्पक्ष,स्वच्छ, पारदर्शी र भयमुक्त बनाउन मौन अवधि तोकिएको आयोगले जनाएको छ । यो अवधिमा कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न पाइने छैन ।
दल, उम्मेदवारलगायतले प्रचारसहित भेला, गोष्ठी गर्न नपाउने आचरण निर्देशिकामा उल्लेख छ । मतदानस्थलको तीन सय मिटर वरपरसम्म दल तथा उम्मेदवारले प्रचार सामग्री राख्न पाउने छैनन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सामाजिक सञ्जाल वा अरु माध्यमबाट पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री राख्न, पोष्ट गर्न, सेयर गर्न पाइदैन ।
आयोगले यो अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिको निगरानी गर्ने र त्यस्ता गतिविधि भएमा तत्काल कारबाही गर्ने जनाएको छ । मौन अवधिमा निर्देशिका विपरीत मतदाता प्रभावित पार्ने गतिविधि गरेमा उम्मेदवारी रद्ददेखि एक लाख रुपैयाँ जरिबानासम्मको कारबाही हुनसक्ने पनि आयोगले जनाएको छ ।
त्यस्तै, आज मध्यरातिदेखि नै चीन र भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन् । कुनै देशमा चुनाव हुँदा लागू गरिने अन्तर्राष्ट्रिय नियमअनुसार आज राति १२ बजेदेखि शुक्रवार राति १२ बजेसम्म सीमानाका बन्द हुने गृह मन्त्रालयले जनाएको छ ।
चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिएको पनि मन्त्रालयले जनाएको छ । चुनावलाई शान्तिपूर्ण र मर्यादित बनाउन भन्दै भोलिदेखि जाँडरक्सी बिक्रीवितरणमा पनि रोक लगाइएको छ ।
तपाईको प्रतिक्रिया