00:00:00
राष्ट्रिय

पालिका चुनावका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै, उल्लङ्घन गरे उम्मेदवारी नै रद्द हुने 

मंगलबार बैशाख २७, २०७९/ Tuesday 05-10-22


बैशाख २७
स्थानीय तह चुनावका लागि आज राति १२ बजेदेखि मौन अवधि लागू हुँदैछ । आउँदो शुक्रवार हुने मतदानका लागि निर्वाचन आयोगले आज मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्म मौन अवधि लागू गरेको हो । आयोगका अनुसार मौन अवधिमा आचारसंहिता विपरीतका गतिविधि गर्न पाइदैन । 

चुनावलाई निष्पक्ष,स्वच्छ, पारदर्शी र भयमुक्त बनाउन मौन अवधि तोकिएको आयोगले जनाएको छ । यो अवधिमा कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न पाइने छैन ।

दल, उम्मेदवारलगायतले प्रचारसहित भेला, गोष्ठी गर्न नपाउने आचरण निर्देशिकामा उल्लेख छ । मतदानस्थलको तीन सय मिटर वरपरसम्म दल तथा उम्मेदवारले प्रचार सामग्री राख्न पाउने छैनन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सामाजिक सञ्जाल वा अरु माध्यमबाट पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री राख्न, पोष्ट गर्न, सेयर गर्न पाइदैन ।

आयोगले यो अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिको निगरानी गर्ने र त्यस्ता गतिविधि भएमा तत्काल कारबाही गर्ने जनाएको छ । मौन अवधिमा निर्देशिका विपरीत मतदाता प्रभावित पार्ने गतिविधि गरेमा उम्मेदवारी रद्ददेखि एक लाख रुपैयाँ जरिबानासम्मको कारबाही हुनसक्ने पनि आयोगले जनाएको छ ।

त्यस्तै, आज मध्यरातिदेखि नै चीन र भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन् । कुनै देशमा चुनाव हुँदा लागू गरिने अन्तर्राष्ट्रिय नियमअनुसार आज राति १२ बजेदेखि शुक्रवार राति  १२ बजेसम्म सीमानाका बन्द हुने गृह मन्त्रालयले जनाएको छ । 

चुनावलाई मध्यनजर गरेर सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा गरिएको पनि मन्त्रालयले जनाएको छ । चुनावलाई शान्तिपूर्ण र मर्यादित बनाउन भन्दै भोलिदेखि जाँडरक्सी बिक्रीवितरणमा पनि रोक लगाइएको छ । 

तपाईको प्रतिक्रिया