00:00:00
स्वास्थ्य

तिलोत्तमाका घर-घरमा 'जथाभावी' फोहोर नगर्ने प्रतिबद्धता स्टिकर  

बिहीबार फाल्गुण १९, २०७८/ Thursday 03-03-22

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सरसफाई अभियानलाई नगरबासीको घर—घरमा केन्द्रित गरेको छ । प्रत्येक घर, व्यवसायिक प्रतिष्ठान, संघ—संस्था, निकायमा जथाभावी फाहोर नगर्ने प्रतिबद्धता सहितको स्टिकर टाँस गरेर नगरपालिकाले सरसफाई अभियानलाई थप प्रभावकारी बनाएको हो । तिलोत्तमामा नगरपालिका र टोल विकास संस्थाहरुले नियमित सरसफाई अभियान सञ्चालन गर्दै आएका छन् ।

नगरपालिकाले टोल विकास संस्था र खानेपानी उपभोक्ता तथा सरसफाई संस्थासँगको समन्व्यमा घर—घरमा सरसफाई गर्ने प्रतिबद्धता सहितको स्टिकर टाँस गर्दै सरसफाई अभियानलाई तीव्रता दिएको छ । यस्तै सडकका विद्युत्पोल, मुख्य चोकहरुमा समेत स्टिर टाँस गरिनेछ । टोल विकास संस्था तथा खानेपानी उपभोक्ता संस्थाहरुले प्रतिबद्धता स्टिकर टाँस गरी घरधनीबाट प्रतिबद्धतापत्रमा हस्ताक्षर गराउनेछन् ।

अभियानको क्रममा जथाभावी फोहोर गर्नेलाई निरुत्साहित र ठाउँ घर, परिवार, टोल, समुदाय सफा राख्नेलाई पुरस्कृत गरिने नगरस्तरीय टोल विकास संस्था सञ्जालका अध्यक्ष हेमराज पौडेलले बताउनुभयो । उहाँका अनुसार नगरमा रहेका खानेपानी उपभोक्ता संस्थासँगको सहकार्यमा टोल विकास संस्थाहरुले यो अभियान हरेक नगरबासीको घरमा पुर्याउनेछन् ।

यसैक्रममा तिलोत्तमा नगरपालिका, नगरस्तरीय टोल विकास संस्था सञ्जाल र  शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको संयुक्त आयोजनामा वडा नं. १, २, ३ र ४ का टोल सञ्जालका पदाधिकारी तथा खानेपानीका पार्षद्हरुको लागि बिहीबार अभिमुखीकरण कार्यक्रम भएको छ । त्यसअवसरमा नगर प्रमुख बासुदेव घिमिरेले टोल सञ्जाल र खानेपानी सेवा क्षेत्रका पदाधिकारीहरुलाई स्टिकर हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा नगर प्रमुख बासुदेव घिमिरेले पूर्णसरसफाई उन्मुख नगरपालिकालाई दिगो बनाउन स्टिकर अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नगरबासीको सहयोग र सहकार्यले तिलोत्तमाले विभिन्न रचनात्मक काम गरेको बताउँदै यो अभियन्ताहरुप्रति आभार व्यक्त गर्नुभयो । यस्तै खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख गुणानिधी पोखरेलले तिलोत्तमामा निर्माणका क्रममा रहेका खानेपानी आयोजना छिट्टै सम्पन्न हुने क्रममा रहेको बताउँदै आयोजना सम्पन्न हुँदा सबै नागरिक स्वच्छ खानेपानीको पहुँचमा पुग्ने बताउनुभयो ।

त्यसअवसरमा मुलुककैं उत्कृष्ट खानेपानी आयोजनाको रुपमा शंकरनगर खानेपानी संस्थालाई विभागको तर्फबाट प्राप्त भएको सम्मान पत्र अध्यक्ष झविन्द्र भण्डारीलाई हस्तान्तरण गरिएको थियो । यस्तै टोल विकास संस्था सञ्जाललाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

खानेपानी संस्थाका अध्यक्ष झविन्द्र भण्डारीको अध्यक्षता, उपाध्यक्ष डिलबहादुर भट्टराई, सचिव कमला भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा तिलोत्तमा वडा नं. ३ का वडाध्यक्ष टंकप्रसाद तिवारी, खानेपानी उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष ध्रुव धिताल, नगरस्तरीय टोल विकास संस्था सञ्जालका अध्यक्ष  नगरपालिकाकी वरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरे, वातावरण शाखाका गोरखनाथ खनाललगायतले बोल्नुभएको थियो । 

 

तपाईको प्रतिक्रिया