तिलोत्तमा । भलबारी जेसिजले समाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रमहरु गरिरहेको छ । आइतवार तिलोत्तमा ७ भलवारी चोकमा ट्राफिक सचेतना अभिवृद्धि कार्यक्रम गरेको हो ।
बुटवल भैरहवा सडक विस्तार भएसँगै दुर्घटना बढ्न थाले पछि चोकमा अवलम्वन गुर्नपर्ने सावधानी सहित कार्यक्रम गरिएको छ । म्याजिक (ट्राफिक) लाईट समेत राखिएको भलवारी चोकमा ट्राफिक सचेतना बढाउनु पर्ने आवश्यकता महसुस गरी कार्यक्रम गरिएको भलबारी जेसिज २०२२ का अध्यक्ष किशोर पंगेनीले बताउनुभयो ।
अध्यक्ष किशोर पंगेनीले जीवन सुरक्षाका लागि पदयात्री तथा चालक दुवैका लागि ट्राफिक नियमको पालना आवश्यक रहेको बताउँदै जेसिज्ले रचनात्मक कार्यक्रम अन्तर्गत ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।
औपचारिक र सडक कार्यक्रम गरी दुइ चरणमा गरिएको सचेतनामूलक कार्यक्रममा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले सडक अनुशासन कायम गर्न सकेमा दुर्घटना न्यूनीकरण गर्न सकिने बताउनुभयो । उहाँले सानो असावधानीले ठूलो घट्ना निम्तिन सक्ने बताउँदै सचेत हुनुपर्नेमा जोड दिनुभएको थियो । असावधानी र नियम परिपालना नगर्दा हुने दुर्घटना र क्षतिबारे जानकारी गराउँदै भण्डारीले ट्राफिक नियम पूर्ण परिपालना गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम संयोजक डिलाराज तिवारीको स्वागत, जेसिज वर्ष २२ का महासचिव चन्द्र प्रसाद भट्टराईको संचालनमा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय मंगलापुरका असई लक्ष्मण ज्ञवाली,पूर्वअध्यक्ष्हरु अर्जुन पराजुली, दिपु भण्डारी,वसन्त श्रेष्ठलगायतको आतिथ्य रहेको थियो । सवारी चालकहरुलाई सडकमै ट्राफिक सङ्केत पालना गर्न सचेत गराइएको थियो ।
तपाईको प्रतिक्रिया