00:00:00
स्थानिय

युवा संघको रक्तदान, १ सय २५ यूनिट रगत संकलन

मंगलबार माघ १८, २०७८/ Tuesday 02-01-22

बुटवल । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको सप्ताहव्यापी रक्तदान अभियान अन्तरगत रुपन्देहीमा आज रक्तदान गरिएको छ । 

युवा संघ रुपन्देहीले बुटवलको रक्तसञ्चार केन्द्रमा आयोजना गरेको कार्यक्रममा १ सय २५ यूनिट रगत संकलन भएको छ । युवा संघ रुपन्देहीले आयोजना गरेको रक्तदान कार्यक्रममा युवाहरुको सक्रिय सहभागिता रहेको कार्यक्रम संयोजक तथा युवा संघ जिल्ला कार्यसमिति सदस्य दिपक खड्कीले बताउनुभयो ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा युवा संघ रुपन्देही ईन्चार्ज केशव रोकाले सामाजिक अभियानसँगै स्वास्थ्य क्षेत्रमा समेत युवाहरुको योगदानका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको उल्लेख गर्नुभयो । युवा संघले सप्ताहव्यापी रुपमा देशका अन्य जिल्लाहरुमा समेत यसैगरी रक्तदान कार्यक्रमको आयोजना गरिरहेको उहाँले जानकारी गराउनुभयो । 


युवा संघ रुपन्देहीका अध्यक्ष मनोज गौचन, युवा नेताहरु दिनानाथ भट्टराई, सुरज खरेल लगायतको उपस्थिती रहेको रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको थियो । मुलुकका विभिन्न आन्दोलनहरुमा मात्रै होइन मानवीय सेवामा पनि युवा संघ तयार छ भन्ने सन्देश यो अभियानले दिने उहाँहरुले बताउनुभएको थियो ।

रक्तदाताहरुलाई प्रमुख अतिथी युवा संघ रुपन्देही ईन्चार्ज रोका लगायत उपस्थित अतिथीहरुले प्रमाणपत्र प्रदान गरेको सदस्य कृष्ण कुमालले जानकारी दिनुभयो । कार्यक्रम सहसंयोजक विकासजंग बस्नेतले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 

तपाईको प्रतिक्रिया