मदिराका नियन्त्रणका लागि ऐन, नियमको प्रभावकारी कार्यान्वनको खाँचो
प्रकाश आचार्य,बुटवल
२०७८ पौष ८
मदिराका नकारात्मक असरहरू नियमनका लागि ऐन र नियमको प्रभावकारी कार्यान्वनको खाँचो औलाइएको छ । मदिरा नियमन गर्न बनेका ऐन २० प्रतिशतसम्म समेत कार्यान्वन हुन नसक्दा समाजमा विकृति आएको एक कार्यक्रममा जानकारहरूले बताएका छन।
उपभोक्ता हित संरक्षण मञ्च, नेपाल लुम्बिनी प्रदेशले बुटवलमा बिहीबार आयोजना गरेको मदिराका नकारात्मक असरहरू र नियमनको आवश्यकता सम्बन्धी उपभोक्ता सचेतना कार्यक्रममा बोल्दै ऐन, नियम, नियमावली र निर्देशिकाहरू कार्यान्वन गर्दै अझै ठोक कानून निर्माण गरेर मदिरा नियमन गरी स्वच्छ समाज निर्माण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारूले मदिना नियमन गर्ने कानूनलाई कार्यान्वन प्रदेश तयार रहेको बताउनुभयो । थारूले आवश्यक थप कानूनहरू प्रदेश सरकारले निर्माण गर्ने पनि भन्नुभयो । मन्त्री थारूले कानून बिहीन समाजको परिकल्पना समेत गर्नुभएको थियो।
कार्यक्रममा विश्व स्वास्थ्य संगठन प्रतिनिधि हरि भुसालले मदिरा नियन्त्रण गर्न डब्लूएचओले ग्लोबल स्टाटेजी निर्माण गरेको भन्दै त्यसैमा टेकेर संघ, प्रदेश र स्थानीय तहहरूले निर्देशिका बनाउनुपर्ने बताउनुभयो । भुसालले लुम्बिनी प्रदेशका २४ प्रतिशत युवाहरु मदिरा खाने गरेको अध्ययनले देखाएको भन्नुभयो ।
उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष तथा अभिवक्ता केशव कुमार शर्माले कार्यपत्र प्रस्तुत गर्दै १८ वर्षभन्दा उमेरका बालबालिकालाई मदिरा विक्री गर्न नहुने बताउनुभयो । त्यस्तै अर्को कार्यक्रम प्रस्तुत गर्दै पत्रकार तथा उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनीका सल्लाहकार डिआर घिमिरेले मदिरा नियमनको सट्टा झनै विक्री वितरण बढेको भन्दै त्यसले ठूलो हानी पुर्याएको बताउनुभयो ।
मदिरा व्यवसायी संघ, रुपन्देहीका उपाध्यक्ष बाबुराम ज्ञवालीले समाजमा घरयासी मदिरा नियन्त्रण गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्राध्यापक मुकुन्दराज ज्ञवाली, रुपन्देही व्यापार संघका अध्यक्ष यामलाल लोहनी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजु, पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, ब्रहमकुमारी ईश्वरीय विश्वविद्यालयकी कमला दिदी, दिनेश पन्थी लगायतले बोल्दै मदिराका असरबारेमा विद्यालय तहकै पाठ्यक्रममा समावेश गर्न आवश्यक रहेको बताएका थिए ।
उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकको अध्यक्षता, कोषाध्यक्ष ऋषि आजादको स्वागत तथा सचिव दुर्गा गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सहयोग विश्व स्वास्थ्य संगठनले गरेको थियो ।
तपाईको प्रतिक्रिया