दुई लाख राशीको रोटरी सेवा पदक डा. नन्दु र निरालाई
बुटवल २०७८ मंसिर १६
रोटरी क्लव अफ बुटवलले यसवर्ष दुईजना चिकित्सकलाई रोटरी सेवा पदक प्रदान गरेको छ । दुई लाख रुपियाँ राशीको रोटरी सेवा पदक क्लवको चार्टड नाइटको अवसर पारेर प्रदान गरिएको छ ।
रोटरी हिरो नामक सेवा पदक प्राप्त गर्नेमा लुम्बिनी प्रादेशिक अस्पतालका कोभिड फोकल पर्सन डा. नन्दु पाठक र नारायणी अस्पताल पर्सा विरगन्जमा कार्यरत प्याथोलोजिष्ट डा. निरा पाठकलाई प्रदान गरिएको हो । दुवैजनाले कोभिड संक्रमित बिरामीको उपचारमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै जनही एकलाखका दरले रोटरी सेवा पदक प्रदान गरिएको हो ।
रोटरी सेवा पदकका लागि क्लवले नेपालभरिका रोटरी क्लव तथा जिल्ला प्रशासन कार्यालयबाट त्यस्ता व्यक्ति वा संस्थाले पुर्याएको योगदानसहितको नाम सिफारिश गर्न आह्वान गरेबमोजिम डा. नन्दु र डा. निरा छनोटमा परेका हुन् । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर नोमिनी राजेन्द्र प्रसाद ध्वजू, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी एवं क्लवका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायले संयुक्त रुपमा रोटरी सेवा पदक प्रदान गर्नुभएको थियो।
शिक्षा, स्वास्थ्य सरसफाई र सामुदायिक कार्यहरु, सिप श्रृजना र विकास, गरिवी निवारण, जनउपयोगी खोज, नारी उत्थान र लैगिक समानता विषयमा रहेर क्लबले पुरस्कार प्रदान गर्दे आएको छ । क्लवले हरेक दुई वर्षमा रोटरी सेवा पदक प्रदान गर्दै आएको क्लवका अध्यक्ष डा. ताराप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया