आजदेखि कांग्रेसको प्रादेशिक अधिवेशन, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने
काठमाण्डौ २०७८ मंसिर १६
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेश अधिवेशन सुरु भएको छ । आज प्रदेश २ बाहेक बाँकी सबै प्रदेशमा अधिवेशन उद्घाटन हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सर्लाही जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुन नसक्दा प्रदेश दुईको प्रदेश अधिवेशन केही दिन ढिला हुने भएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे प्रादेशिक अधिवेशनको उद्घाटन भर्चुअल माध्यमबाट गर्ने कार्यक्रम रहेको छ । सात वटै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्ने जनाइएको छ । प्रदेश एकको अधिवेशन विराटनगर, प्रदेश २ को जनकपुर, बागमती प्रदेश अधिवेशन हेटौंडा, गण्डकीको कर्णाली, लुम्बिनी अधिवेशन भैरहवा, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुने कांग्रेसले जनाएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आज मतदाता नामावली प्रकाशन हुनेछ भने शुक्रबार मनोनयन दर्ताको कार्यतालिका तय भएको छ । शनिबार निर्वाचन हुनेछ ।
तपाईको प्रतिक्रिया