कपिलवस्तुमा हसियाले हानेर श्रीमतीको हत्या
अभियुक्त पक्राउ
कपिलवस्तु २०७८ कार्तिक २३
श्रीमतीको हत्या गरी जङ्गलमा फालेर फरार रहेको अभियोगमा कपिलवस्तुका महाराजगँज नगरपालिका–११ बाबा बनगाई बस्ने ४५ वर्षीय राम केवल लोनियालाई प्रहरीले पक्राउ गरेको छ।
असोज १७ गते लाेनियाले आफ्नै ३५ वर्षीया श्रीमती चिन्की लोनियालाई हत्या गरी बुद्धभूमि नगरपालिका–९ चम्पापुरस्थित कपिलबस्तु साझेदारी सामुदायिक जंगलमा फालेका थिए । ईलाका प्रहरी कार्यालय गोरुसिङेबाट खटिएको प्रहरीले उक्त ठाउँमा मानव कंकाल फेला परेपछि अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा कात्तिक ७ गते घटनास्थलमा फेला परेका चप्पल, कपडाहरुबाट चिन्कीको सनाखत भएको थियो ।
ईलाका प्रहरी कार्यालय गोरुसिङे द्वारा घटना सम्बन्धमा गोप्य रुपमा बुझ्दै जाँदा चिन्कीलाई आफ्नै श्रीमान राम केवलले हत्या गरी नेपाल भारत सिमा क्षेत्रमा लुकिछिपी बस्दै आएको भन्ने खुल्न आएपश्चात खोजतलास गर्नेक्रममा प्रहरीले बुद्धभूमि नगरपालिका–९ डुमरामा फेला पारी पक्राउ गरेको हो ।
श्रीमतीले पर–पुरुषसँग अवैध सम्बन्ध राख्ने गरेको शंकाको विषयलाई लिएर आपसी झगडा भएपछि श्रीमतीलाई मार्ने योजना बनाएका थिए । भदौ १५ गते बाती काट्ने काठ लिन जाने बहानामा जंगलमा लगी हसियाँले हानेर हत्या गरी भारततर्फ भागेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
तपाईको प्रतिक्रिया