00:00:00
राष्ट्रिय

एकसाथ ६ हजार ७ सय ४३ वडा अधिवेशनको उद्घाटन

शनिबार कार्तिक ६, २०७८/ Saturday 10-23-21

काठमाण्डौ २०७८ कार्तिक ६ 

     नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशभरका ६ हजार सात सय ४३ वटा वडाका अधिवेशनलाई एकसाथ उद्घाटन गर्नुभएको छ। 

शनिबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा जुम एप्समार्फत अध्यक्ष ओलीले देशभरका वडा अधिवेशनलाई एकसाथ उद्घाटन गर्नुभएको हो । यो उद्घाटन समारोहलाई इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा ‘डिस्प्ले’ गरिएकाे छ ।

अध्यक्ष ओलीले बेमौसममा आएको वर्षाका कारण ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नु भयो । पार्टीको वडा अधिवेशनहरुको उद्घाटन गर्दै उहाँले बाढी पहिराेकाे मारमा परेकाहरुलाई राहत दिने र उद्धार कार्यमा संलग्न हुने पार्टीका नेता, कार्यकर्तालाई धन्यवाद पनि दिनु भयो ।

  अध्यक्ष ओलीले पार्टीभित्र उन्नतस्तरको एकता रहेको दाबी गर्दै उन्नतस्तरको समझदारीका साथ देशभरका सबै वडा अधिवेशनहरू सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।अतिवृष्टिका कारण आज हुन नसकेका वडा अधिवेशनहरू छिट्टै सम्पन्न गर्न पनि सम्बन्धित कमिटीहरूलाई अध्यक्ष ओलीले निर्देशन दिनुभएको छ ।

तपाईको प्रतिक्रिया