लुम्बिनी प्रदेशसभामा आज नयाँ बजेट प्रस्तुत हुँदै, प्रतिपक्ष एमालेको अवरोध कायम रहने
बुटवल २०७८ असोज २०
लुम्बिनी प्रदेशसभामा प्रदेश सरकारको तर्फबाट आज प्रतिस्थापन विधेयकमार्फत् नयाँ बजेट प्रस्तुत गरिने भएको छ। आज मध्यान्ह १ बजे बस्ने प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले विधेयक पेस गर्ने भएका हुन् ।
शंकर पोखरेल नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको बजेटमा संशोधन गरि बजेटको तयारी गरिएको आर्थिक मामिला मन्त्री खड्काले बताउनुभयो । पूर्ववर्ती सरकारका आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीले प्रस्तुत गरेको अध्यादेशको बजेटमा प्रतिपक्ष गठबन्धनमा देखिएको असहमतिका बुँदाहरुलाई नयाँ बजेटमा समावेश गरिएको खड्काले बताउनुभयो ।
नेकपा एमालेका नेता शंकर पोखरेलको पूर्ववर्ती सरकारले चालु आर्थिक वर्ष २०७८/७९ का लागि गएको असार १ गते अध्यादेश मार्फत ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । संसदमा बजेट प्रस्तुत गर्ने कार्यसूची तष्यार भईसकेपछि संसदबाट बजेट पास गर्न बहुमत नहुने देखिएपछि एमाले सांसदहरु संसद नै छाडेर निस्केको थियो । संसद बिहस्कार गरेको सत्तारुढ दलका तत्कालीन मुख्यमन्त्री पोखरेलले अध्यादेशमार्फत् बजेट ल्याउनुभएको थियो ।
सरकारले नयाँ बजेट पेस गर्ने तयारी गरिरहेका बेला सत्ताबाट प्रतिपक्षमा पुगेको एमाले भने आज पनि सदन अवरुद्ध गर्ने तयारीमा देखिएको छ । सरकारबाट बहिर्गमन भएदेखि नै एमालेले संसद अवरुद्ध गर्दै आएको छ । सूर्यचिन्हबाट चुनाब जितेका सांसदद्वय अजय शाही र बिमला वलीलाई कारवाही नहुँदासम्म सदन चल्न नदिने अडानमा रहेको एमालेले लगातार संसदमा अवरोध गर्दै आएको छ ।
सत्तारुढ गठबन्धन भने गणीतिय हिसावले संसदमा बहुमत रहेको आधारमा अवरोधकैबीच बजेट पास गर्ने रणनितीमा देखिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले सदनमा बहुमत पुग्ने भएकाले बजेट पास हुने दाबी गर्नुभयो।
तपाईको प्रतिक्रिया