00:00:00
स्थानिय

केराउ तस्करी खुलाउन उवासंघको प्रशासनलाई दबाब

बुधबार असोज १३, २०७८/ Wednesday 09-29-21

हरि शर्मा,परासी
२०७८ असोज १३ 

         

       केराउ (मटर)को तस्करी खुलाउन पश्चिम नवलपरासीका व्यवसायीहरुले प्रहरी प्रशासनलाई दबाब दिएका छन् । पछिल्लो पटक प्रहरीले केराउ तस्करीमा कडाई गर्न थालेपछि त्यसलाई सहज बनाउन माग गर्दै उद्योगी व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघ नै दबाब दिन प्रशासन कार्यालय पुगेको हो । 

     संघका अध्यक्ष केशव भण्डारीको नेतृत्वमा पुगेको व्यवसायीहरुको प्रतिनिधिमुलक टोलीले ज्ञापन पत्र बुझाउँदै केराउ ओसारपसारलाई सहज बनाउन माग गरेको हो । जिल्लाका सीमा नाकाहुँदै भारततर्फ केराउको तस्करी बढ्न थालेपछि प्रहरीले कडाई गर्न थालेको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र र प्रहरी उपरीक्षक मनोज कुमार यादवलाई बुझाएको ज्ञापन पत्रमा भन्सार कागज, बिललगायतका कागजपत्रसहित जिल्लामा भित्राइएका हरियो र सेतो मटर, छोहडा, मरिचलाई निर्वाध रुपमा ओसार पसारको व्यवस्था मिलाउन माग गरिएको छ । उक्त सबै वस्तुहरु भारततर्फ तस्करी हुँदै आएको छ ।

       कारोबारमा संलग्न व्यवसायीहरुको दबाबमा उद्योग वाणिज्य संघका पदाधिकारीसहितको टोली प्रशासन कार्यालय पुगेको हो । जिल्लाको आवश्यकता भन्दा कैयौं गुना बढी केराउ आउने गरेको र ति सबै भारततर्फ तस्करी हुने गरेकोले त्यसको नियन्त्रणका लागि लागि पर्ने प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनुभयो । कागजपत्र भएपनि उक्त केराउका बारेमा अनुसन्धान गरिने प्रहरी उपरीक्षक यादवले बताए ।‘ठूलो मात्रामा आउने केराउ तस्करीका लागि नै आउने भएकाले आवश्यक छानविन र अनुसन्धान गर्छौं । तस्करी कार्यलाई कुनै पनि हालतमा प्रोत्साहन गरिदैन ।’ व्यवसायीहरुसँग उपरीक्षक यादवले भन्नुभयो। 
  
       विरगञ्ज नाकाहुँदै आउने केराउ व्यवसायीहरुले जिल्लाका सीमावर्ती नाकामा रहेका गोदाममा राख्ने र त्यहीबाट भारततर्फ तस्करी गराउने गरेका छन् । पछिल्लो पटक केराउ तस्करीका लागि यो जिल्ला ट्रान्जिट प्वाइण्ट जस्तै बनेको छ ।तेस्रो मुलकबाट आउने केराउ भारतमा पु¥याउँदा प्रतिकेजी २० देखि ३० रुपैयाँ नाफा हुने भएकाले तस्करी कार्य बढेको हो । 

    ३ महिना अघि सरुवा भएर आएका प्रहरी उपरीक्षक यादवले केराउमा कडाई गर्न थालेपछि व्यवसायीहरुले कारोबारलाई सहज बनाउन विभिन्न माध्यमबाट दबाब दिइ रहेका छन् । ३ महिनाको अवधिमा प्रहरीले विभिन्न नाकाबाट ७६ लाख ६८ हजारको केराउ बरामद गरेर राजश्व कार्यालय बुटवल र महेशपुर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिनुभयो । 

तपाईको प्रतिक्रिया