बुटवलका मेयरलाई मुक्का हान्ने विरुद्ध एमालेले मुद्दा नचलाउने
बुटवल २०७८ असोज ५
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक विरुद्ध नेकपा एमालेले मुद्दा नचलाउने भएको छ। एमाले बुटवल उपमहानगर कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष बाबुराम पन्थीले घटना दुःखद् र निन्दनीय भए पनि घटनामा व्यक्तिलाई एमालेले मुद्दा मामिला नगर्ने बताउनु भएको हो ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले अनेरास्ववियुका रुपन्देही जिल्ला सदस्य गणेश पङ्गेनीलाई पक्राउ गरिसकेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुवरले पङ्गेनी पक्राउ परेको भए पनि उनी विरुद्ध मुद्दा जाहेरी अहिलेसम्म कसैले पनि नदिएको जानकारी दिनुभयो ।
'घटना दुःखद् र निन्दनीय छ तर मुद्दा चलाउने पक्षमा हामी छैनौँ' नगर कमिटी अध्यक्ष पन्थीले भन्नुभयो । घटना लगत्तै एमाले बुटवल र जिल्ला समितिले संलग्नलाई कारबाही गर्न माग गरेका थिए । पहिरो निरीक्षणमा गएको बेला बुटवल-३ ज्योतिनगरमा हिजाे बिहान नगर प्रमुख सुवेदीमाथि पहिरो प्रभावित पङ्गेनीले मुक्का प्रहार गरेका थिए ।
तपाईको प्रतिक्रिया