बुटवल–सैनामैनामा शून्य फोहोरको अवधारणा जैविक मल र वायोग्यासको प्रशोधन केन्द्र बनाउने तयारी
प्रकाश आचार्य,बुटवल
२०७८ भदौं २७
तपाइँ हामीकहाँ शौचालय भरियो भने त्यसलाई सेनेटरीवालाले तानेर लगेर कता फाल्छ र के गर्छ केही थाहा छैन । हाम्रै घरहरुमा निस्किएको फोहोरकोसमेत नगरपालिकाले कहाँ कसरी व्यवस्थापन गरिरहेका छन् त्यसमा पनि चासो छैन ।कुहिने र नकुहिने दुबै प्रकारका फोहोरलाई एउटै भाँडामा हाल्यो सरसफाईको गाडी आउँछ त्यसैमा फालिदियो, महिना बित्छ रसिद लियो र पैसा तिर्यो । केही दिन गाडी आएन भने फोहोर थुप्रो लाग्यो त्यसको तस्बिर खिच्यो अनि आफ्ना पालिकालाई गाली गर्यो। फोहोरको प्रकृत्ति अलग अलग गरेर जैविक मल बनाउने र उपयोग गर्ने बारेमा हाम्रो ध्यान नै जाँदैन । यसरी चलिरहेको प्रवृत्तिलाई अब बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाले नयाँ ढंगमा बदल्ने तयारी गरेका छन् । खासगरी बुटवल–सैनामैनामा शून्य फोहोरको अवधारणाका साथ यस्तो कामको थालनी भएको छ । अबको केही महिनामै यो काम सुरु हुने तयारी छ ।
यी दुई नगरको तयारी छिमेकका अरु पालिकासमेत समेटेर एकीकृत प्रशोधन केन्द्र निर्माण गर्ने रहेको छ । केन्द्रमा फेहोरको प्रकृत्ति अलग अलग गरेर प्रशोधन गर्ने, मल निकाल्ने, बायोग्यास निकाल्नेलगायतका प्लान्ट जडान गरिनेछन् । यस्का लागि जग्गाको व्यवस्था भइसकेको छ । उक्त जग्गामा प्राविधिकहरु, वातावरणविद्हरु लगेर अध्यय्न गराउनेदेखि वैकल्पिक उर्जा र जैविक मलका जानकारहरुसंग कैयौ पटक विषयकेन्द्रित छलफल भएका छन् । वातावरणीय प्रभाव मूल्यांकन समेत गराएर थप प्राविधिक ध्यय्नपछि प्लान्ट निर्माण गर्ने तयारी छ ।
फोहोरमैलालाई जैविक र अजैविक छुट्याई कम्पोष्टिङ मल तयार गर्ने एवं वैकल्पिक ऊर्जासमेत उत्पादन गर्ने योजनाका साथ बुटवल, सैनामैना, कञ्चन गाउँपालिकाका बीचमा छलफल चलिरहेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताउनुभयो । ‘यस्को उपयुक्त केन्द्र खोजी भइरहेको छ र प्रस्तावित जग्गामा प्राविधिक अध्यय्न भइरहेको छ’ प्रमुख सुवेदीले भन्नुभयो, ‘अब फोहोर उठाउने फाल्ने र पुर्ने वा जलाउने गरेर होइन, उचित प्रशोधन गरेर बहुउपयोग गरिने छ ।’
प्रस्तावित प्रशोधन केन्द्रका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका इञ्जिनियर, वातावरणका विज्ञ तथा परामर्शदाता सहितको विशेष टोलीले विस्तृत अध्यय्न गरेको थियो । विज्ञहरुसहित पालिकाका बीचमा पनि छलफल चलिरहेको र तयारी अन्तिम चरणमा पुगेको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिनुभयो । ‘फोहोर थुपार्ने भन्दा पनि फोहोरलाई प्रशोधन गरेर बहुउपयोगमा ल्याउने गरी प्रशोधन केन्द्रको स्थापना गर्ने हो, यस्तो प्रशोधन केन्द्र विश्वका धेरै मुलुकमा प्रभावकारी रहेको पाइएको छ,’ प्रमुख कार्कीले भन्नुभयो, ‘त्यस्तै प्रविधिको प्रयोग गरेर फोहोरको आधुनिक व्यवस्थापन गरिने छ ।’
बुटवल उपमहानगरका १९ वटै वडाहरुलाई समेट्ने गरी प्रभावकारी व्यवस्थापनको खाँचो छ । यसअघि कैयौं वर्षदेखि कुरा भएपनि सार्थकता पाउन सकिरहेको छैन । एसीयाली विकास बैंक (एडीबी) को सहयोगमा व्यवस्थापनको पहल भयो तर अगाडि बढ्न सकेन । यहाँ दैनिक ५३ टन फोहर संकलन हुने गरेको छ । यो बढ्दो क्रममा छ । यसरी संकलन हुने फोहर एडीबीको सहयोगमा दैनिक ८३ टन फोहर प्रशोधन गर्ने योजना थियो ।त्यसका लागि बुटवल ७ मा रहेको शिवनगर सामुदायिक वनको करिब ५ हेक्टर जमिन छनोट गरिएको थियो । ३७ करोड रुपैयाँ लगानी हुने प्रशोधन केन्द्रको निर्माण सन् २०१० मा सुरु भएर सन् २०१५ को डिसेम्बरमा सकिनुपर्ने सम्झौता थियो । सुरुमा वातावरण प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन पारित नहुँदा लम्बिएको थियो । ईआईए अनुसार उपमहानगरपालिकाले वनको सट्टा पाल्पाको साबिक तेल्घा गाविसमा ९५ रोपनी किनेर संरक्षण गरी वृक्षरोपण गरेको छ । त्यहाँ अहिले हरियो जंगल बनिसकेको छ । त्यसपछि सन् २०१४ डिसेम्बरमा ६ सय दिनमा सम्पन्न गर्ने गरी जेडआईईसी–पप्पु जेभीसँग २८ करोड ९५ लाख ६६ हजार रुपैयाँमा आयोजनाको ठेक्का सम्झौता भएको थियो ।
फिल्ड स्तरको काम सुरु गर्न लाग्दा आफ्नो नजिकमा प्रशोधन केन्द्र राख्न नदिने भन्दै छिमेकी देवदह नगरपालिकाको चरंगेका स्थानीय बासिन्दा विरोधमा उत्रिए । दुवै स्थानीय तह बसेर सम्झाउँदा पनि स्थानीयका नाममा विरोध भइरह्यो । आयोजना अगाडि बढेन । अहिले जनप्रतिनिधि चुनिएपछि अब वैकल्पिक क्षेत्रको खोजी गर्दै दीर्घकालीन व्यवस्थापनको काम सुरु भएको छ । कति संकलन हुन्छ फोहोर ?
बुटवलमा ६० टन, सैनामैनामा ३५ टन र कञ्चन गाउँपालिकामा २० टन फोहोर दैनिक रुपमा संकलन हुँदै आएको छ । जुन फोहोरमध्ये करिब ७० प्रतिशत कुहिने रहेको फोहोरको व्यवस्थापनमा लामो समयदेखि काम गर्दै आएका बुटवलका उद्यमी तथा लामो समयदेखि फोहोर व्यवस्थापनमा खटिदै आएका बलभद्र पुरीको भनाइ छ । ३० प्रतिशत नकुहिने तथा पुनःप्रशोधन गर्न मिल्ने खालको फोहोरलाई पनि घरैदेखि प्रकृत्ति छुट्टाउन सकियो भने पुनप्रयोग गर्न सकिने पुरी बताउनुहुन्छ । प्रशोधन केन्द्र नहुँदा अहिले उपमहानगरसहित यहाँका पालिकाहरुले सबै फोहर एकै ठाउँमा फाल्दै आएका छन् ।
तपाईको प्रतिक्रिया