00:00:00
स्थानिय

दर्ता नभएका ई–रिक्सालाई कारवाही गर्न मजदुर संगठनको ट्राफिकलाई आग्रह

शुक्रबार भदौ १८, २०७८/ Friday 09-03-21

प्रकाश आचार्य,बुटवल-रुपन्देही 
२०७८ भदौ १८ 

        नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बुटवल उपमहानगरपालिकामा दर्ता प्रक्रियामा नआउने विद्युतीय रिक्सा (ई–रिक्सा) कारवाहीको प्रक्रिया अगाडि बढाउन ट्राफिक प्रहरीलाई आग्रह गरेको छ । संगठनले शुक्रबार लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र सिंह थापालाई  ध्यानाकर्षण पत्र बुझाउँदै अटो रिक्साको अविलम्ब व्यवस्थापन गरी बुटवललाई स्वच्छ र दुर्घटनारहित बनाउन आग्रह गरेको हो । 

      ज्ञापनपत्र बुझाउँदै संगठनका प्रदेश अध्यक्ष कृष्ण कंडेलले बुटवल शहरलाई स्वच्छ र दुर्घटना रहित बुटवल बनाउनको लागि आफूहरू कार्यविधि अनुसार नचलेका रिक्सालाई नियमन गरी कारवाही गर्न आग्रह गरिएको बताए । ई–रिक्सालाई उपमहानगरमा दर्ता गराउन मजदुर संगठनले सार्थक पहल गरेको थियो ।कंडेलले उपमहानगरपालिकाको निर्णण र विधि विपरीत सञ्चालनमा आएका ई–रिक्साका कारण दुर्घटना बढ्दै जाने र ट्राफिक व्यवस्थापमा समेत बाधा पर्ने हुँदा त्यस्ता रिक्सालाई कारवाही गर्ने प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको बताउनुभयो ।

          बुटवल उपमहानगरपालिकाले जारी गरेको सूचना र त्यसको अवधिमा कागजातसहित आवेदन दर्ता गराएका एक हजार १८ वटा विद्युतीय ई–रिक्साहरुको ब्लुबुक तयार पार्ने र इजाजतका लागि अरु नियामक निकायमा सिफारिस गरिएको छ । उपमहानगरमा दर्ता भएका, ब्लुबुक तयार भएका १ हजार १८ वटा मात्रै ई–रिक्सा चल्न पाउने छन् । १ हजार ८ सय भन्दा बढी अटो रिक्सा सञ्चालनमा रहेको अनुमान छ ।ज्ञापनपत्र बुझदै एसपी थापाले उपमहानगरपालिकाले नियमनमा नआएका रिक्सालाई कारवाहीको लागि पत्राचार गरे आफूहरू निश्चित समय तय गरी कारवाही गर्न तयार रहेको बताउनुभयो।  

     नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य ठाकुर गैरेले आफूहरूको पहलको सुनुवाई नभए संगठन बाध्य भएर आन्दोलनमा जानुपर्ने अवस्था आउने बताउनुभयो । २०७२ मा भएको नाकाबन्दीको समयमा बुटवलमा अटो रिक्सा भित्रिएका थिए । 
 

तपाईको प्रतिक्रिया