00:00:00
अर्थ/वाणिज्य

नेपालबाट ५६ मेगावाट विद्युत् निर्यात, आयात २३ मेगावाटमा झर्‍याे

बुधबार भदौ ९, २०७८/ Wednesday 08-25-21

काठमाण्डाै- २०७८ भदौ ९ 

       नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात हुने बिजुलीको मात्रा घटाउँदै निर्यात बढाउन थालेको छ । प्राधिकरणको भार प्रेषण शाखाका अनुसार नेपालले सोमवार भारतमा ५६ मेगावाट बिजुली निर्यात गरेको छ । त्यसै दिन जम्मा २३ मेगावाट मात्र आयात भएको थियो । त्यसैगरी आज ५० मेगावाट निर्यात भइरहेको छ भने ३३ मेगावाट आयात भइरहेको छ ।

नेपालले २०७५ सालदेखि इनर्जी बैंकिङमार्फत भारतमा बिजुली पठाउन थालेकोमा यो अहिले सम्म कै धेरै परिमाणको निर्यात भएको प्राधिकरणले जनाएको छ । असारसम्म पनि भारतबाट अधिकतम दुई सय मेगावाटसम्म बिजुली आयात भएकोमा अहिले आयात २३ मेगावाट सम्म झरेको हो ।

माथिल्लो तामाकोसीको बिजुली उत्पादन भएसँगै यसले आयात घटाउन र निर्यात बढाउन ठूलो भूमिका खेलेको प्राधिकरणले जनाएको छ ।विद्युत् प्राधिकरण तथा सहायक कम्पनीबाट आठ सय ५९ मेगावाट र निजी क्षेत्रले चार सय ८३ मेगावाट गरी अहिले नेपालमा १३ सय ६५ मेगावाट बिजुली उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ ।   

नेपालले भारतसँग विद्युत् आयात गर्न थालेको ३० वर्षपछि मात्रै पहिलो पटक आयात भन्दा निर्यात धेरै गर्न सफल भएको भार प्रेषण शाखाले जनाएको छ ।  

तपाईको प्रतिक्रिया