काठमाडौं- २०७८ भदौ ९
नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसन शुरु गरेका छन् ।
जिल्ला सभापतिहरुले क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुपर्ने माग गर्दै बुधबारबाट २४ घण्टे रिले अनसन शुरु गरेका हुन् । उनीहरुले यसैगरी सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरुपता आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्न पनि माग गरेका छन् ।
कांग्रेसका नुवाकोटा जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले बुधबार तीन जिल्ला सभापति अनशनमा बसेको बताउनुभएको छ। आफु सहित काभ्रेका मधु आचार्य र धादिङ जिल्ला सभापति रमेश धमला पहिलो दिन रिले अनशनमा बसेको जानकारी दिनुभयो।
केसीले प्रत्येक दिन नयाँ तीन जिल्ला सभापति अनशनमा बस्ने पनि बताउनुभएको छ । ‘जबसम्म हाम्रा मागबारे सम्बोधन हुँदैन, तबसम्म अनशन जारी रहन्छ,’ सभापति केसीले भन्नुभयो। ‘यो जिल्ला सभापतिको माग होइन, देशभरका क्रियाशील सदस्यको भावनाको प्रतिनिधित्व हामीले गरेका हौं ।’
कांग्रेसले १४ औं महाधिवेशन मंसिर ९ देखि १३ सम्म गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ । वडा अधिवेशन आउन १० दिन पनि बाँकी नरहेका बेला निर्वाचन समितिले क्रियाशील सदस्यताको अन्तिम सूची पाएको छैन । पार्टी सभापति शेरबहादुर देउवाले सदस्यता सूची निर्वाचन समितिलाई बुझाएपछि नामावली सार्वजनिक गर्ने तयारी छ । कांग्रेसले यसपटक वेबसाइटमै सदस्यता इन्ट्री, उजुरी दर्ता गरेको थियो भने नामावली सार्वजनिक पनि वेबसाइटमै गर्ने तयारी छ ।
तपाईको प्रतिक्रिया