सांसद शाही र वलीलाई पदमुक्त गर्न मिल्दैन : लुम्बिनी प्रदेश सभा
बुटवल-रुपन्देही
२०७८ भदौ ६
लुम्बिनी प्रदेश सभा सचिवालयले नेकपा एमालेले कारबाही गरेका दुई सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न नमिल्ने बताएको छ । एमालेले सांसदद्वयलाई कारबाही गरेर पदमुक्त गर्न सचिवालयमा पत्र पठाएकोमा सचिवालयले दुवै सांसदलाई पदमुक्त गर्ने आधार नभएको भन्दै पदमुक्तको सूचना जारी गर्न नमिल्ने पत्र पठाएको हो ।
प्रदेश सभा नियमावलीको अनुसूची ७ अनुसार दलले भर्ने फारममा सांसद विमला वली र सांसद अजय शाही दुवैको नाम दलका सदस्यका रूपमा समावेश गरेको भए पनि उनीहरूले भर्ने अनुसूची ६ अनुसारको व्यक्तिगत विवरण फारममा आफू एमालेको सदस्य नभएको ब्यहोरा भरेका कारण पदमुक्त गर्न नसकिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बताउनुभयो ।
पत्रमा अजय शाही स्वतन्त्र समूहबाट चुनावमा सहभागी भएको र व्यक्तिगत विवरण पनि स्वतन्त्र समूहको तर्फबाट नै रहेको उल्लेख छ । नेकपाको तर्फबाट निर्वाचित विमला वलीले फागुन २३ गते सर्वोच्चको फैसलापछि आफू कुनै दलको संसदीय दलमा सहभागी नभएको दाबी गर्नुभएको छ ।
आफूले कारबाहीको विवरण पठाए पनि सचिवालयले उनीहरूलाई पदमुक्त नगरेको भन्दै नेकपा एमाले शाही र वलीलाई सांसद पदबाट मुक्त गर्न माग गर्दै प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया