00:00:00
विचार/व्लग

सुस्त श्रवण समस्या होईन शक्तिमा बदल्नु छ

, / Monday 11-30--1

रुपन्देही-सालझन्डी,२०७७ साउन २४

      मेरो जन्म भारतमा भएतापनि जन्म पश्चात हामी गुल्मी आफ्नो पुर्खेउली घरमा पर्के पछि  तिन कक्षामा अध्ययन गर्दै गर्दा तराईको  रुपन्देहीको सालझण्डीमा बसाई सरेका थियौ । म घरकी जेठी छोरी थिए म भन्दा सानो भाई थियो । तराई झरे पछि बाबा बिदेश जानु भयो । त्यती बेला भाई सानै थियो म सालझण्डीको श्री पशुपति मा.विमा कक्षा चारमा पढ्न सुरु गरे । पढाई राम्रो नै चलिरहेको थियो जब म कक्षा पाँचमा पढ्दै थिए अचानक ज्योरो आयो लामो समय सम्म म बिरामी परे त्यो बेला म बाच्छु जस्तो लागेको थिएन तर जिन्दगी सजिलै कहाँ सकिन्छ र बिस्तारै सन्चो भयो तर मैले बिस्तारै कान दुख्नुको साथै सुनाई पनि कम भएको महसुस गर्न थाले । घर नजिकैको मेडिकलमा देखाउदा दाहिने कानमा पिलो जस्तै घाउ देखियो त्यसलाई सानो अपरेसन गरीयो केही समय औषधी खाए पछि दुखाई कम हुँदै गयो म त्यतिबेला कक्षा पाँचमा पढ्दै थिए ।

     जब म छ कक्षामा पढ्दै थिए मेरो कानको समस्या फेरी बढ्न थाल्यो कक्षामा शिक्षकले पढाएको सुन्न छोडे । मिल्ने साथीलाई मैले सरले पढाएको केही सुन्दिन भनेपछि साथी र म भएर ठुलो आट गरेर सरलाई अनुरोध गर्यौ । त्यस पछि मलाई सधै दोश्रो बेन्चमा बस्ने वतावरण मिल्यो तर पनि मैले पढाएको त सुन्दिन थिए । शिक्षकको लेखाई, हाउभाउ र ओठको चालमा ध्यान दिदै पढाईलाई अगाडी बढाउन बिवश भए म मेरा ति पलहरु निकै पिडादाई हुन थाल्यो साथीहरुलाई माझ मैले कान सुन्न छोडेको कुरा चर्चाको बिषय बन्न थाल्यो । अब कान सुन्न छोडे पछि सबैकालागि बिचरा कसरी पढ्छ,छोरी मान्छे के गर्छ , बिहे होलाकी नहोला धेरै कुरा म संग जोडिन थाले । कान आज भन्दा भोली कम हुदै गए पछि झारफुक लामा झाक्रि पनि कुनै कतै बाँकी रहेन । उपचार गर्दा सबै पैसा खर्च भयो तर मेरो सुनाईमा कुनै  सुधार आएन । डाक्टरले एउटा नसा च्यापिएर हो औषधी खाए र कसरत गर्ने गरेमा निको हुन्छ भन्नु भयो । लामो समय औषधी खादा म निकै कमजोर हुन थाले औषधी कै कारण स्कुल जाने सक्दिन कि भन्ने डर लाग्न थाल्यो त्यसैले मैले औषधी पनि खान छोडिदिए ।

         समाज,छरछिमेक र आफन्तहरुले कान नसुन्ने रेखा भनेर मेरो नामाकरण नै गरीदिए स्कूलमापनि हरेक क्रियाकलापमा तिमी कान सुन्दैनौ समस्या हुन्छ भनेर मैले गर्न सक्ने कुराहरुमा बन्चित हुनथाले । पढाईमा पनि म कमजोर हुन थाले,विद्यालय परिवार बाट भेदभाव हुनथाल्यो मनमा आफुलाइ हिनता बोध हुन्थ्यो घर आएर आमा संग निकै रुन्थे बिचरी मेरी आमा मेरो रोदनमा उहाको मन कती रुदो हो । धेरै पटक पढाई छोड्ने अनि आत्म हत्या गर्ने सोचले हलचल मच्चाउने गर्दथ्यो मेरो मनमा । घरपरिवारको निरन्तर साथ सहयोगले अगाडी बढिरहे कक्षामा सेतो पाटीमा लेखेको र शिक्षकले मुख चलाएको भरमा एस.ई.ईमा पनि राम्रै अङ्क ल्याउन सफल भए म  जब म कान सुन्न छोडेको कुरा स्वही विद्यालयकै शिक्षक कल्पना ढकालले थाहा पाउनुभयो मलाई अपाङ्गता छात्र वृद्धि,परिचय पत्र,सांकेतिक भाषा सबै संग परिचित गराउन सहयोग गर्न थाल्नु भयो । उहाँ आफैपनि शारीरिक अपाङ्गता हुनुहुन्थ्यो,उहाँले मलाई सधै हामि गर्न सक्छौं अगाडी बढ्नु पर्छ हरेस  खाने होईन भनेर मेरो हिम्मत बढाउने मेरो परिवारलाई पनि अपाङ्गताको बारेमा बुझाउन थाल्नु भयो । अहिले मैले दुबै कानमा हेरिङ्हेड लागाउछु तर हेरिङ्हेड लगाउदापनि आवाज त सुन्छु तर कुरा बुझ्न सार्है गार्हो हुन्छ सबै जनाले हेरिङ्हेड लगाएर हिडेको देखेर के हो यो भनेर सोध्नुहुन्छ उत्तर दिदा म थाक्छु र दिक्कलागेर कहिलेकाही त नदेख्ने ठाँउमा फाल्न मन लाग्छ । शिक्षालाई निरन्तरता दिनका लागि सामान्य विद्यालयमा पढ्न कान सुनिदैन,बहिरा विद्यालयमा पढौं सांकेतिक भाषा सबै बुझिदैन,भाषा पुरा गर्नको लागि सर्बसुलभ छैन । उच्च शिक्षा सम्म अध्ययन गर्ने अनि सरकारी जागिर खाएर परिवारलाई सहयोग गर्ने मेरो सपना अब सपना मात्र हुने त्रासमा छु । महगो रहकममा पटकपटक खरिद गर्नु पर्ने हेरिङ्हेड कमजोर आर्थिक अबस्थाले कहिले सम्म थेग्न सक्छ थाहा छैन । 

       अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सहयोगि सामग्र निशुल्क भनियतापनि हामि जस्ताका लागि कहिले सहज हुन सकेन । कठिन परिश्रम गरेर बाह्र पास त भए तर अब मेरो पढाईलाई अगाडी बढाउने चाहाना हुदाहुदै पनि भाषाको कारणले गर्दा अगाडी अध्ययन गर्ने ढोका बन्द हुने सम्भावना छ ।  अहिले सम्मको भोगाईमा जन्म जात बहिरा अपाङ्गता र पछि बहिरा अपाङ्गता हुनुमा पनि विभेद महसुस गरेकी छु । जन्मजात बहिरा अपाङ्गता हुनेहरुले सुरु बाटनै सांकेतिक भाषाबाट नै संचार सुरु हुने हुदा उहाँहरु आफु आफु छिटो घुलमिल हुनसक्ने तर पछि बहिरा अपाङ्गता हुनेहरुका लागिसांकेतिक भाषा सर्बसुलभ नहुनु कानको ढोका  बन्द हुनु र अगाडीका बाटामा पनि अनगिन्ति तगाराहरु लगाईदो रहे छ । मेरो परिवार र मानव समाजमा हामि जस्ताले भोग्नु परेका चुनौतीलाई चिर्ने सहारा बन्न चाहिरहेकी छु । कान सुन्दाको मेरो समाज र मैले कान सुन्न छोडे पछाडी समाजले म प्रती गर्ने व्यबहार र दृष्टिलाई ताकत बनाएर अगाडी बढ्नु छ मलाई समग्र अपाङ्गता भएका म जस्तै पछि बहिरा अपाङ्गता भएका नागरिकका लागि आट, भरोसा जुटाउनु छ मैले । अपाङ्गता भएका व्यक्तिका लागि शिक्षा अनि उनिहरुले प्रयोग गर्ने सहयोगी सामग्री सहजरुपमा हासिल गर्न सक्ने वातावरण हुनु पर्दछ । सुस्त श्रवण वा अपाङ्गता हुनु कुनै पाप हैन तर यस्तो अबस्थालाई दया अनि बिभेद गर्नु कमजोर मानसिकता हो । हामी अन्य नागरिक सरह शिक्षा अनि अबसरको खोजिमा छौं, म मा श्रीजना भएको सुस्थ श्रवणलाई समस्या होईन शक्तिमा बदल्नु छ  । 

 लेखक : रेखा राना
 कार्यरत संस्था : स्वाबलम्बी अपाङ्ग महिला शसक्तिकरण रुपन्देही 

तपाईको प्रतिक्रिया