टिकुलिगढ माविमा इन्डोर क्रिकेट कोर्टको उद्घाटनसँगै वृक्षरोपण
तिलोत्तमा, भदौ १६ ।
तिलोत्तमा नगरपालिकाको टिकुलिगढ स्थित टिकुलिगढ माविमा आज इन्डोर क्रिकेट कोर्टको उद्घाटनसँगै वृक्षरोपण गरिएको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले ब्याटिङ्ग तथा बलिङ्ग गरेर उक्त क्रिकेट कोर्टको उद्घाटन गर्नुभएको हो ।
त्यस अवसरमा उहाँले विद्यालयका प्रधानाध्यापक शंकरदत्त उपाध्यायलाई दुई सेट क्रिकेट सामाग्री समेत हस्तान्तरण गर्नुभएको छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भुसालले विद्यालयले क्रिकेटको माध्यमबाट समग्र तिलोत्तमाको गरिमालाई माथि उठाउन सक्ने बिश्वास व्यक्त गर्नुभयो । अध्ययन—अध्यापनसँगै अतिरिक्त क्रियाकलापमा समेत हरेक विद्यालय अब्बल बन्न सक्नुपर्ने विषयलाई नगरपालिकाले प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले विद्यालय व्यवस्थापमा सुधार आएकोमा खुशी समेत व्यक्त गर्नुभयो । विद्यालयका समस्यालाई समाधान गर्न सक्दो सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत भुसालको प्रतिबद्दता छ । भुसालले विद्यालयमा रहेको शैक्षिक सिकाई संग्रहालयको समेत अवलोकन गर्नुभएको छ ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले शिक्षासंगै खेलकुद,वातावरण र अन्य सृजनशिल कार्यक्रममा विद्यालयलाई जोड्नुपर्ने आवश्यकता औँल्याउँदै विगत देखिनै आफुले यस्ता विषयहरुलाई प्राथमिकता दिदै आएको बताउनुभयो ।
कार्यक्रममा प्रधानाध्यापक उपाध्यायले जीर्ण रहेका भौतिक संरचनाको मर्मतसम्भारमा विशेष चासो दिन नगरपालिकालाई आग्रह गर्दै सामुदायिक विद्यालयप्रति अभिभावकको चासो बढाइनुपर्नेमा जोडदिनुभयो । उपाध्यायले विद्यालयको आवश्यकतालाई मध्यनजर गरेर कार्यक्रम ल्याएकोमा तिलोत्तमा नगरपालिका र कार्यपालिका सदस्य रवि सेन्चुरीलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया