00:00:00
शिक्षा

लिटिल प्याराडाइजमा अभिभावक अन्तरक्रिया कार्यक्रम

विद्यालयको गुणस्तर सुधारमा अभिभावकले दिए सुझाव
आइतबार भदौ ७, २०८३/ Sunday 08-23-26

प्रकाश पाण्डे । भदौं ७ गते । रुपन्देहीको तिलोत्तमा–७, भलवारीस्थित लिटिल प्याराडाइज इङ्लिस मिडियम स्कुलमा विद्यालयको शैक्षिक गुणस्तर तथा समग्र व्यवस्थापन सुधारका विषयमा केन्द्रित अभिभावक अन्तरक्रिया कार्यक्रम–२०८३ सम्पन्न भएको छ । विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा विद्यालय र अभिभावकबीच प्रत्यक्ष अन्तरक्रिया गर्दै विद्यार्थीको सिकाई उपलब्धि, विद्यालयको शैक्षिक वातावरण तथा शिक्षण–सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो । कार्यक्रममा अभिभावकहरूलाई विद्यालयका गतिविधि र व्यवस्थापनबारे आफ्ना धारणा, सुझाव तथा अपेक्षा राख्न अवसर प्रदान गरिएको विद्यालयका सहप्राचार्य  मोहन थारुले जानकारी दिनुभयो । 

अन्तरक्रियाका क्रममा अभिभावकहरूले विद्यालयको शैक्षिक गुणस्तर थप सुधार गर्नुपर्ने, विद्यार्थीको पढाइप्रति अझ प्रभावकारी निगरानी गर्नुपर्ने, शिक्षण विधिलाई समयअनुकूल र व्यावहारिक बनाउनुपर्ने लगायतका विभिन्न विषयमा सुझाव दिएका थिए । विद्यार्थीको पढाइसँगै अनुशासन, व्यवहारिक ज्ञान, अतिरिक्त क्रियाकलाप तथा व्यक्तित्व विकासलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा अभिभावकहरूको जोड थियो । अभिभावकहरुको जिज्ञासा मेटाउदै विद्यालयका प्राचार्य केएनसागर ज्ञवालीले अभिभावकबाट प्राप्त सुझावलाई विद्यालयको आगामी शैक्षिक योजना र सुधारका कार्यक्रमसँगै जोडेर अघि बढाउने बताउनुभयो ।

 विद्यालय र अभिभावकबीच नियमित संवाद तथा सहकार्यले विद्यार्थीको सिकाइ उपलब्धि बढाउन र विद्यालयको समग्र गुणस्तर सुधार्न यस्ता कार्यक्रम फलदायी होस भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको ज्ञवालीको धारणा थियो । शिक्षक अभिभावक संघका अध्यक्ष शान्ति कार्कीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा उपाध्यक्ष थानेश्वर पाण्डे, सदस्यहरु माधव भुर्तेल, सदस्य दीपेन्द्र राना लगायतको सहभागिता रहेको थियो । विद्यालयका प्राचार्य केएन सागर ज्ञवालीको सभापतित्वमा सम्पन्न कार्यक्रमले विद्यालय, शिक्षक र अभिभावकबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै विद्यार्थीको उज्ज्वल भविष्यका लागि सहकार्य गर्ने वातावरण निर्माण गरेको विद्यालयका सहप्राचार्य तथा कार्यक्रम सन्चालक मोहन थारुले जानकारी दिनुभयो । 
 

तपाईको प्रतिक्रिया