गीर्वाण माविमा प्रधानाध्यापकको जिम्मेवारी हस्तान्तरण
प्रकाश पाण्डे । साउन २ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्रामस्थित गीर्वाण सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा विशेष कार्यक्रमका बीच प्रधानाध्यापकको जिम्मेवारी हस्तान्तरण गरिएको छ । शुक्रबार विद्यालयका प्रधानाध्यापक केदारचन्द्र पराजुलीको अध्यक्षता तथा तिनपा ५ का वडाध्यक्ष रमेश डुम्रेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरू, शिक्षक–अभिभावक संघका पदाधिकारी, सरस्वती पाञ्चायतन मन्दिरका अध्यक्ष, विद्यालयका अक्षयकोषदाता, शुभेच्छुक, शिक्षक तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा निवर्तमान प्रधानाध्यापक केदारचन्द्र पराजुलीले विद्यालयका वरिष्ठ शिक्षक डिल्लीराज भण्डारीलाई औपचारिक रूपमा प्रधानाध्यापकको जिम्मेवारी हस्तान्तरण गर्नुभयो ।
नवनियुक्त प्रधानाध्यापक डिल्लीराज भण्डारीले सबै पक्षको साथ, सहयोग र विश्वासलाई आत्मसात गर्दै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा समग्र हितका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रमुख अतिथि एवं वडा नं. ५ का वडाध्यक्ष रमेश डुम्रेले समयको आवश्यकता अनुरूप योजना निर्माण गरी विद्यालयको चौतर्फी विकासमा अग्रसर हुन आग्रह गर्दै स्थानीय सरकार तथा आफ्नो व्यक्तिगत तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। उहाँले निवर्तमान प्रधानाध्यापक केदारचन्द्र पराजुलीको योगदानको उच्च मूल्यांकन गर्दै धन्यवाद व्यक्त गर्नुभयो भने नवनियुक्त प्रधानाध्यापक डिल्लीराज भण्डारीलाई सफल कार्यकालको शुभकामना दिनुभयो । कार्यक्रमका अध्यक्ष तथा निवर्तमान प्रधानाध्यापक केदारचन्द्र पराजुलीले आफ्नो कार्यकालमा विद्यालयको विकासमा सहयोग पु¥याउने सम्पूर्ण जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक–कर्मचारी, अभिभावक, शुभेच्छुक तथा सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो। साथै उहाँले नवनियुक्त प्रधानाध्यापक डिल्लीराज भण्डारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
तपाईको प्रतिक्रिया