00:00:00
स्थानिय

‘श्रमको सम्मान राष्ट्रको अभियान’लाई तिलोत्तमाको अभियान बनाउनुपर्नेमा जोड

शनिबार असार १३, २०८३/ Saturday 06-27-26

प्रकाश पाण्डे । असार १३ गते । श्रमको सम्मान गर्दै नेपाली श्रमशक्तिलाई स्वदेशमै रोजगारी, सीप विकास तथा उद्यमशीलता मार्फत आत्मनिर्भर बनाउने उद्देश्यका साथ तिलोत्तमा नगरपालिकामा ‘श्रमको सम्मान ः राष्ट्रको अभियान’ सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रोजगार, सीप तथा उद्यमशीलता केन्द्र तिलोत्तमाको आयोजनामा तिलोत्तमा नगरपालिकाको कार्यालयमा सम्पन्न कार्यक्रममा नगरप्रमुख रामकृष्ण खाँड र उपप्रमुख जगेश्वरदेवी चौधरीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै वक्ताहरूले नेपालको ठूलो श्रमशक्ति वैदेशिक रोजगारीका लागि विदेशिने तर श्रमिकको अभावमा विभिन्न क्षेत्रमा विदेशी कामदार नेपाल भित्रिने वर्तमान अवस्थाले मुलुकको आर्थिक तथा सामाजिक विकासमा चुनौती थपिएको उल्लेख गर्दै यस प्रवृत्तिलाई क्रमशः अन्त्य गर्न स्थानीय तहबाट रोजगारी सिर्जना, सीप विकास र उद्यमशीलताको प्रवद्र्धन अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए । नेपालको संविधानको धारा ३३ ले प्रत्येक नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ भने राज्यले रोजगारीको व्यवस्था गर्न नसके कानूनबमोजिम बेरोजगार सहायता उपलब्ध गराउने व्यवस्था गरेको छ ।

त्यस्तै धारा ३४ ले श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा सामाजिक सुरक्षासहित सम्मानजनक श्रम गर्ने अधिकार प्रदान गरेको छ । संविधानले श्रमलाई सम्मानित र उत्पादनमुखी बनाउँदै स्वदेशमै रोजगारीका अवसर विस्तार गर्न राज्यलाई मार्गनिर्देशनसमेत गरेको छ । कार्यक्रममा कार्यपालिका सदस्य रवि सेन्चुरीले श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास गर्दै ‘श्रमको सम्मान ः राष्ट्रको अभियान’लाई तिलोत्तमा नगरपालिकाको साझा अभियानका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो ।

उहाँले तिलोत्तमामा कृषि, उद्योग, सेवा तथा पर्यटन लगायत क्षेत्रमा पर्याप्त रोजगारीका सम्भावना रहेको उल्लेख गर्दै ती अवसरको पहिचान, प्रवद्र्धन र सदुपयोग गर्न सके युवालाई स्वदेशमै टिकाउन सकिने विश्वास व्यक्त गर्नुभयो । यस्तै, तिलोत्तमा नगरपालिका–१४ का वडाध्यक्ष आश्विन पौडेलले स्थानीय स्रोत, साधन र सीपको प्रभावकारी उपयोगमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न श्रमप्रतिको सकारात्मक सोच विकास आवश्यक रहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण तिलोत्तमा नगरपालिकाका रोजगार शाखा प्रमुख शंकर पन्थीले गर्नुभएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य राधा शाही, जनप्रतिनिधि, विभिन्न कलेजका विद्यार्थी, युवा उद्यमी, व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । 

तपाईको प्रतिक्रिया