00:00:00
खेलकुद

प्याब्सन रुपन्देहीको जिल्लास्तरीय अन्तरविद्यालय फुटसल प्रतियोगिता

कुल ४४ वटा विद्यालय टोली मैदानमा
आइतबार असार ७, २०८३/ Sunday 06-21-26

प्रकाश पाण्डे  । असार ७ गते — निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) रुपन्देहीद्वारा आयोजित प्रथम दुई दिवसीय जिल्लास्तरीय अन्तरविद्यालय ब्वाइज तथा गल्र्स फुटसल प्रतियोगिता–२०८३ आइतबारदेखि सुरु भएको छ । “उत्साहका साथ खेलौं, गौरवका साथ जितौं” भन्ने मूल नारासहित योगीकुटीमा सुरु भएको प्रतियोगितामा जिल्लाभत्रका कुल ४४ वटा विद्यालय टोलीको सहभागिता रहेको छ । जसमा छात्रतर्फ ३४ र छात्रातर्फ १० टोलीले प्रतिस्पर्धा गर्ने छन् । कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी प्रतियोगिताको विजेता टोलीले नगद १५ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु १० हजार र तृतीय हुनेले नगद रु ५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यसैगरी उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घघाटन गर्दै प्याब्सन केन्द्रीय उपाध्यक्ष टिकाराम न्यौपानेले विद्यार्थीहरूमा खेलप्रतिको आत्मविश्वास, अनुशासन र नेतृत्व क्षमता विकास गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले खेलकुद मार्फत विद्यार्थीहरूले आफ्नो प्रतिभा उजागर गर्दै सफल खेलाडी बन्ने सुअवसर प्राप्त गर्ने आशा एवं विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै प्याब्सन रुपन्देहीका अध्यक्ष दीपक खनालले पहिलो पटक आयोजना गरिएको जिल्ला स्तरीय फुटसल प्रतियोगितालाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गरिने जानकारी दिनुभयो । 

उहाँले प्रतियोगिताले विद्यार्थी खेलाडीहरूमा खेलभावना, अनुशासन र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो । कार्यक्रममा प्याब्सन केन्द्रीय कार्यसमिति सदस्य खेमेन्द्र राना, अभिभावक संघका केन्द्रिय सदस्य लोकनाथ ज्ञवाली, राष्ट्रिय रेफि विष्णुप्रसाद पौडेल, प्याब्सन जिल्ला कार्यसमितिका पदाधिकारी, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधि, खेलप्रेमी महानुभाव तथा विद्यार्थी लगायतको उल्लेख्य सहभागिता रहेको खेल संयोजक नरबहादुर क्षेत्रीले जानकारी दिनुभयो । प्याब्सन रुपन्देहीका बरिष्ठ उपाध्यक्ष कुलराज शर्माको स्वागत मन्तब्य तथा सचिव बोधराज गौडेलको सन्चालन रहेको प्रतियोगितामा आइतबार प्रारम्भिक चरणका खेलहरु भएका छन भने सोमबार फाइनल सहितका बाँकी खेलहरू सम्पन्न गरिने खेल संयोजक क्षेत्रीले जानकारी दिनुभयो । 
 

तपाईको प्रतिक्रिया