तिलोत्तमा–५ मा निःशुल्क आँखा शिविर
३५० भन्दा बढीको आँखा चेकजाँच, ५० बढीमा मोतियाबिन्दु पहिचान
प्रकाश पाण्डे । जेठ ३० गते । तिलोत्तमा नगरपालिका वडा नं ५ को आयोजना तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र तिलोत्तमा ५ को सहकार्यमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । वडा कार्यालयमा आयोजित शिविरमा ३० वर्ष माथिका महिला तथा पुरुष गरी करिब ३५० जनाले आँखा परीक्षण गराएको आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख स्वास्थ्य अधिकृत गणेश भण्डारीले जानकारी दिनुभयो । श्रीकृष्ण नेत्रालय, भैरहवा प्राविधिक सहयोग रहेको कार्यक्रममा दृष्टि विशेषज्ञ सौरभ सरकार सहितको टोलीले शिविरमा सहभागीहरुको आँखा चेकजाँच गरेको थियो ।
शिबिरमा सहभागी मध्ये करीब ५० जनालाई मोतियाबिन्दुको समस्या देखिएकोमा केहीलाई निःशुल्क शल्यक्रियाका लागि भैरहवास्थित रणअम्बिका अस्पताल पठाइएको छ भने केहीलाई सहुलियत दरमा अप्रेशनका लागी श्रीकृष्ण नेत्रालय रेफर गरिएको छ । शिविरमा सहभागीहरुलाई आवश्यक औषधि तथा निःशुल्क चश्मा समेत वितरण गरिएको छ । कार्यक्रममा बोल्दै वडा नं ५ का अध्यक्ष रमेश डुम्रे ले प्रत्येक वर्ष यस्ता स्वास्थ्य शिविरमार्फत जनतालाई घरदैलोमै विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको बताउनुभयो ।
उहाँले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नियमित रूपमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र यसले प्रत्यक्ष रुपमा आम समुदायमा सकारात्मक प्रभाव पारेको दावी गर्नुभयो । कार्यक्रममा मेलमिलाप संयोजक चुरामणी पाण्डे, टोल विकास संस्थाका सावित्रा ज्ञवाली, श्रीकृष्ण नेत्रालयका दृष्टि विशेषज्ञ सौरभ सरकार लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । जनप्रतिनिधि हरि पन्तको स्वागत र आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख स्वास्थ्य अधिकृत गणेश भण्डारीको सन्चालनमा उद्धघाटन सत्र सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया