तिलोत्तमामा सम्पन्न २ दिने अन्तराष्ट्रिय कराँतेमा नेपाल प्रथम
नेपालले जित्यो कुल ३३ पदक
प्रकाश पाण्डे । बैशाष १२ गते ।
तिलोत्तमामा आयोजित पाँचौँ एमजीके अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता शनिबार सम्पन्न भएको छ। प्रतियोगितामा नेपालले ३३ पदकसहित प्रथम स्थान हासिल गरेको छ भने भारत ७ पदकसहित द्वितीय र भुटान ६ पदकसहित तृतीय भएको छ। विजेता खेलाडीहरूलाई शनिबार नै कप, मेडल र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा तिलोत्तमा नगरपालिका वडा नं. ९ का अध्यक्ष ध्रुव न्यौपानेले खेलमार्फत प्रतिभाको पहिचान र अनुशासन कायम राख्न सहयोग पुग्ने बताए। उनले तिलोत्तमालाई कराँतेको हबका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा वरिष्ठ सल्लाहकार भरतबहादुर केसीले खेल प्रतिभाको विकास र प्रवर्द्धनका लागि जापान गोजुरियोले आयोजना गरेको दुईदिने प्रतियोगिता निकै फलदायी भएको बताए। उनले प्रतियोगिताको निरन्तरताका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको धारणा व्यक्त गरे।
समाजसेवी तथा उद्योगी बसन्त रोका क्षेत्री, सितेरियो करातेका प्रशिक्षक अमीर राई लगायतले विजेता खेलाडीहरूलाई बधाई दिँदै आगामी दिनमा अझ उच्च मनोबलका साथ अघि बढ्न आग्रह गरेका थिए।
शुक्रबार र शनिबार गरी दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा २०० खेलाडीहरूले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए। जापान गोजुरियो डो मिसन संघ नेपालका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक काजी रानाका अनुसार प्रतियोगितामा प्राविधिक सहयोगतर्फ उमेश थापा, माधव घिमिरे, प्रेम राना, बिपिन थापा, राजु थापा लगायत भारत र भुटानका प्रशिक्षकहरूले पनि सहयोग गरेका थिए।
तपाईको प्रतिक्रिया