डेभलपमेन्ट बैंकर एसोसिएसनद्वारा मणिग्राममा वित्तीय साक्षरता प्रभातफेरी सम्पन्न
सुरक्षित वित्तीय व्यवहार तथा डिजिटल कारोबारमा जोड
तिलोत्तमा ८ चैत
डेभलपमेन्ट बैंकर एसोसिएसन नेपाल, लुम्बिनीको आयोजनामा आइतबार रुपन्देहीको मणिग्राममा वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । “स्मार्ट मनी टक्स” भन्ने नारासहित ‘विश्व मुद्रा सप्ताह २०२६’ को अवसरमा कार्यक्रम आयोजना गरिएको हो । बालबालिका तथा युवामा वित्तीय ज्ञान, सीप र सकारात्मक सोच विकास गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ८ ओटा विकास बैंकका कर्मचारीहरुको सहभागिता रहेको थियो । सहभागीहरुले वित्तीय सारक्षताका सन्दर्भमा विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । ज्योती विकास बैंक परिसरबाट सुरु भएको प्रभातफेरीले मणिग्रामका विभिन्न भागको परिक्रमा गरेको थियो । सुरक्षित वित्तीय व्यवहार तथा डिजिटल कारोबारका आधारभूत पक्षबारे सचेतना अभिवृद्धिका लागि कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक तथा ज्योती विकास बैंकका क्षेत्रीय प्रवन्धक कपिल न्यौपानेले जानकारी दिनुभयो ।
वित्तीय प्रणालीमा पहुँच विस्तार गर्दै सचेत नागरिक निर्माण गर्ने लक्ष्यअनुसार कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ । कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका प्रमुख रमेश आचार्यले पछिल्लो समय डिजिटल कारोबार बढ्दै जाँदा डिजिटल ठगीका घटना पनि बढ्दै गएकाले यस्ता घटना निरुत्साहित गराउन सचेतना अभियानलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो ।
डेभलपमेन्ट बैंकर एसोसिएसन नेपाल लुम्बिनी प्रदेशका संयोजक तथा गरिमा विकास बैंकका क्षेत्रीय प्रमुख लेखनाथ भट्टराइले वित्तीय साक्षरता अभिवृद्धि आजको आवश्यकता भएको उल्लेख गर्दै युवाहरूलाई सही आर्थिक निर्णय लिन सक्षम बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
चैत २ गतेदेखि सुरु भएको विश्व मुद्रा सप्ताह अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरुले देशभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको राष्ट्र बैंकका अधिकारीहरुले जनाएका छन् । स्थानीय स्तरमा गरिएको सचेतनामुलक प्रभातफेरीले बचत, लगानी तथा जिम्मेवार वित्तीय अभ्यासप्रति सर्वसाधारणको चासो बढाएको सहभागीहरूको भनाइ छ ।
तपाईको प्रतिक्रिया