तिलोत्तमाको प्यारामाउण्ट माविमा जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता
प्रतियोगितामा ग्रीनप्लान्ट स्कूल प्रथम
तिलोत्तमा । फाल्गुन ८ गते । रुपन्देहीको तिलोत्तमा—१ नयाँमिल स्थित प्यारामाउण्ट माविमा बिहीबार जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । २८ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा ग्रीनप्लान्ट बोडिङ स्कूल प्रथम, अक्सफोर्ड बोडिङ स्कूल द्धितीय, न्यूहोराइजन बोडिङ स्कूल तृतीय, स्कलर्स होम बोडिङ स्कूल चौथो र मणिमुकुन्द बोडिङ स्कूल पाँचौं भएका छन् ।
उत्कृष्ट ५ टोलीले क्रमश ः २०, १५, १० र एक÷एक हजार नगद सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्यारामाउण्ट बोडिङ स्कूलले स्थापनाको समयदेखि नै हरेक वर्ष जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्दै आएको छ । हाजिरीजवाफ प्रतियोगिताको अवसरमा विद्यालयले जेहेन्दार विद्यार्थीलाई विभिन्न शिक्षाप्रेमीले स्थापना गर्नुभएको छात्रवृत्ति अक्षयकोषबाट अक्षयकोष समेत वितरण गरेको छ ।
यस्तै उत्कृष्ट विद्यार्थी तथा उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक एवं कर्मचारीलाई पनि सम्मान गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा शिक्षा समन्वय इकाइ रुपन्देहीका प्रमुख विष्णु पन्थीले विद्यार्थीमा समसामयिक विषयबस्तुको बारेमा जानकारी गराउन यस्ता प्रतियोगिता फलदायी रहने विश्वास व्यक्त गर्नुभयो । यस्तै विद्यालयका संस्थापक प्राचार्य डा. दामोदर भुसालले विद्यालयले विद्यार्थीको क्षमताअनुसारका अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको जानकारी गराउँदै विद्यार्थीको सर्वाङ्गीर्ण विकासलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो । कार्यक्रममा अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली, शिक्षक दीवकार पन्थी लगायतले बोल्नुभएको थियो ।
तपाईको प्रतिक्रिया