00:00:00
स्थानिय

तिलोत्तमाका सामुदायिक विद्यालयमा स्वयंमसेवक शिक्षकको व्यवस्था

बुधबार पौष २, २०८२/ Wednesday 12-17-25


तिलोत्तमा,२ मंसिर । 
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयमा सुत्केरी बिदा लिने महिला शिक्षिकाको बिदा अवधिमा स्वयंमसेवक शिक्षकको व्यवस्था गर्ने नयाँ अभ्यास थालनी गरेको छ । विद्यालयका महिला कर्मचारी र शिक्षिकाले ९८ दिन सुत्केरी बिदा पाउने व्यवस्था छ । लामो बिदाका कारण विद्यार्थीको पठनपाठन प्रभावित हुने भएकाले नगरपालिकाले स्वयंमसेवक शिक्षकको व्यवस्था मिलाएको हो । चालु आर्थिक वर्षमा ‘सुत्केरी बिदा स्रोत शिक्षक’ शीर्षकमा नगरपालिकाले ५ लाख बजेट विनियोजन गरेको छ । गत साउनबाट यो कार्यक्रम कार्यान्वयनमा आएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिनुभयो । 

सुत्केरी बिदा लिएपछि विद्यालयले स्वयंमसेवक शिक्षक नियुक्त गरेर निजको यातायात र न्यूनतम खाजा खर्चको भुक्तानी नगरपालिकाबाट लिन सक्ने व्यवस्था मिलाइएको छ । हाजिर दिनको आधारमा माविका लागि एक हजार दुई सय, निमाविको लागि एक हजार र प्राविको लागि आठ सय रुपैंयाँ स्वयंमसेवक शिक्षकलाई भुक्तानी गर्ने व्यवस्था मिलाइएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले मौंजुदा शिक्षकको पूर्वनिर्धारित जिम्मेवारी हुने भएकोले पठनपाठन प्रभावित नहोस् भनेर यस्तो अभ्यास थालिएको बताउनुभयो । 

चालु आर्थिक वर्षमा सरकारी स्रोतबाट तलब सुविधा प्राप्त गर्ने शिक्षकको हकमा मात्र सुत्केरी बिदा स्रोत शिक्षकको व्यवस्था गरिएको शिक्षा शाखाले जनाएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि प्रारम्भबाटैं प्राथमिकता दिएको तिलोत्तमा नगरपालिकाले नीति तथा कार्यक्रममैं उल्लेख गरेर यस्तो व्यवस्था मिलाएको कार्यपालिका सदस्य एवं सामाजिक विकास समिति संयोजक रवि सेन्चुरीले बताउनुभयो । 

पर्याप्त दरबन्दी र आन्तरिक आयस्रोत नभएका विद्यालयका लागि नगरपालिकाले कार्यान्वयनमा ल्याएको नयाँ अभ्यासले सकारात्मक प्रभाव पार्ने शिक्षाका जानकारहरु बताउँछन् । 

तपाईको प्रतिक्रिया