लैंगिक हिंसा बिरुद्दको १६ दिने अभियान सुरु ,तिलोत्तमाले थाल्यो हस्ताक्षर संकलनको काम
बिन्दु भट्टराई तिलोत्तमा,९ मंसिर ।
प्रबिधीको सहि प्रयोग गरौँ ,लैंगिक हिंसा अन्त्य गरौँ भन्ने नाराका साथ लैंगिक हिंसा बिरुद्दको १६ दिने अभियान मंगलबारदेखी संचालन गरिएको छ ।
प्रत्येक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय अभियानको रुपमा विभिन्न कार्यक्रमहरु गरि लैंगिक हिंसा विरुद्दको १६ दिने अभियान विश्वभरी मनाउने सन्दर्भमा तिलोत्तमा नगरपालिकाले पनि हरेक दिन विभिन्न कार्यक्रमहरु अभियानको रुपमा संचालन गर्दैछ । यसै सन्दर्भमा मंगलबार बिहान एक औपचारिक कार्यक्रमसंगै पालिका सहित विभिन्न संघ संस्था तथा सरोकारवाला व्यक्तिहरु विचमा ऐक्यबद्धता स्वरुप हस्ताक्षर कार्यक्रमसंगै अभियान सुरु गरिएको हो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले हिंसाले कसैलाई फाइदा नपुग्ने भन्दै समाजलाइ उँधो गतितर्फ धकेल्ने हुनाले यसको विरुद्धमा ऐक्यबद्धता आवश्यक रहेकोमा जोड दिएका छन् । प्रमुख खाँड्ले हिंसाले मानवता माथी प्रहार गर्ने हुनाले पनि यसको विरुद्धमा एउटै स्वर निस्किनुपर्ने बताए ।
हस्ताक्षर संकलन कार्यक्रमका अध्यक्ष नगरपालिकाका उपप्रमुख तथा लैंगिक संयोजक जगेश्वरदेवी चौधरीले हिंसा विरुद्ध गरिने कार्यक्रमहरुबाट केही परिवर्तन भएपनी पित्री सतात्मक सोँच परिवर्तन गर्न नसक्नु मुख्य चुनौती भएको जिकिर गरिन् । त्यसैले सोँच परिवर्तन गर्ने किसिमका कार्यक्रमहरु संचालान गर्नुपर्नेमा समेत उनको जोड छ । तिलोत्तमा नगरपालिका लैंगिक मैत्री नगरपालिका घोषणाको तयारीमा रहेको तर कम चासो देखाईएका कारण ढिलो भएको उल्लेख गर्दै अन्य कार्यक्रमलाई जस्तै यो कार्यक्रमलाई पनि चासोका साथ अघि बढाउन सबैलाई आग्रह गरिन् ।
त्यस्तै कार्यक्रममा शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले आ आफ्नो ठाउँबाट हिंसा विरोधी आवाजसंगै हिंसा रहित कार्यमा जुट्नुपर्ने आवश्यकता औँल्याए । उनले हिंसा गर्नुहुँदैन भन्ने जान्दा जान्दै पनि भैरहेको सन्दर्भलाई जोड्दै हिंसाको अन्त्यको सुरुवात आफैबाट गर्नुपर्नेमा जोड दिए ।
महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख संझना भण्डारी भुसालको संचालनमा भएको कार्यक्रममा पालिकाका कर्मचारीहरु,सामाजिक विकास समिति संयोजक रवि सेन्चुरी,एकिकृत सेवा पहुँच परियोजनाका संयोजक संगिता मयुर ,वडा अध्यक्षहरु तिलोत्तमा वडा नम्वर ६ का वडा अध्यक्ष गणेश पाठक,८ का कृष्ण पौडेल,१३ नंबरका नारायण प्रसाद ढकाल,वडा नम्वर १४ का आश्विन पौडेलपत्रकार ,विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।
तपाईको प्रतिक्रिया