00:00:00
स्थानिय

तिलोत्तमाका १०० जना उद्यमीलाई सहज स्टाटप कर्जा सम्बन्धी अभिमुखिकरण

शनिबार मङ्सिर ७, २०८२/ Saturday 11-22-25


विन्दु भट्टराई । मंसीर ६ गते । तिलोत्तमा नगरपालिकाले स्टाटप बिजनेशका लागि कर्जा माग सम्बन्धी प्रस्तावना लेखन तालिम सम्पन्न गरेको छ । नेपाल सरकारले उद्यमीलाई प्रदान गर्ने बिना धितो कर्जाबारे जानकारी गराउने उद्देश्यले  नगरपालिकाले शनिबार नगरका  उद्यमी युवा लक्षित अभिमुखिकरण आयोजना गरेको तिलोत्तमा नगरपालिकाका सामाजिक विकास समिति संयोजक रवि सेन्चुरीले जानकारी दिए ।

उनले तिलोत्तमा नगरपालिका आर्थिक हवको रुपमा विकास भैरहेको सन्दर्भलाई जोड्दै उद्यमीलाई राष्ट्रिय स्तरसम्म नै पुग्न यो कार्यक्रम सहयोगी बन्न सक्ने  दाबी गरे । तिलोत्तमा नगरपालिकालाई उद्योग मैत्री नगरको रुपमा बिकास गर्ने गरी नगरपालिका अगाडि बढेको सन्दर्भलाई जोड्दै तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाँडले धेरै भन्दा धेरै युवालाई उद्योगसंग जोडेर स्वदेशी उत्पादन प्रयोगलाई प्रोत्साहन गर्ने बताए उनले यसलाई अवसरका रुपमा लिएर सहि उपयोगतर्फ लाग्न उद्यमीलाई आग्रह गरे ।

त्यस्तै कार्यक्रममा उपप्रमुख जगेश्वरदेवी चौधरीले नगरपालिकाद्वारा उद्यममा जोड्न गरिएको प्रयासमा नगरबासीले चासो र उत्साहका साथ काम गर्न सके उद्यमी मैत्री नगरपालिकाको परिकल्पना सफल हुने बिश्वास व्यक्त गरिन । शिक्षा शाखा प्रमुख गंगाराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा आचार्यले उद्यमीलाई हौँसला प्रदान गर्ने उद्देश्य सहित कार्यक्रम गरिएको भन्दै क्षमता विकास गर्दै सफल उद्यमी बन्नतर्फ प्रेरित हुनेमा आफू विश्वस्त रहेको बताए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका सामाजिक विकास समिति संयोजक रबि सेन्चुरीले यो भन्दा अगाडि पनि यस्तो कार्यक्रम संचालन गरेको र नगरको प्रतिनिधित्व रहने गरि राष्ट्रिय उद्यमीको रुपमा समेत नगरबाट प्रतिनिधित्व गर्न पाउनु सुखद पक्ष भएको जानकारी गराए । शिक्षा शाखाका रमा आचार्यको संचालनमा रहेको कार्यक्रममा करिब १०० जना उद्यमी सहभागी थिए । कार्यक्रमको सहजीकरण आइडिया स्टुडियोका अनिल बस्नेत र सहजकर्ता मुकुन्द ज्ञवालीले संयुक्त रुपमा गरेका थिए ।

तपाईको प्रतिक्रिया